पुस २७, काठमाडौं । भायनेटको सिस्टम ह्याक गरी स्क्रिप्ट सार्वजनिक गर्ने एक किशोर पक्राउ परेका छन्। प्रहरीले रुपन्देही तिलोत्तमा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।
उनलाई साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ईलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा आइतबार पक्राउ गरेको हो। उनले भायनेट कम्युनिकेशन प्रा.लि इन्टरनेट सेवा प्रदायकका ग्राहकहरूको तथ्यांकहरूमा अनधिकृत रुपमा पहुँच पुर्याएका थिए। उनीमाथि फेसबुक, इन्स्टाग्राम, ट्वीटरका सामाजिक सञ्जालमा स्क्रिप्ट सार्वजनिक गरेको आरोप छ। ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार उनको ह्याकिङ नाम नरपिचास हो। उनले ह्याक गर्दा आफ्नो नाम नरपिचास प्रयोग गर्थे। ह्याक गर्दा उनीहरुले अर्कै नाम राख्ने गर्छन्।
ग्राहकका गोप्य सूचनाहरू सार्वजनिक गरेको उजुरीको आधारमा साइबर ब्युरोले अनुसन्धान गरी उनलाई पक्राउ गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।