गृहमन्त्रीद्वारा निर्वाचनको सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २८,काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले वैशाखमा घोषणा गरिएको मध्यावधि निर्वाचनलाई आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् । आज गृह मन्त्रालयमा वरिष्ठ प्रहरी उपरीक्षकबाट नायब महानिरीक्षकमा बढुवा भएका बलका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै निर्वाचनको तयारीमा जुट्न मन्त्री थापाले निर्देशन दिएका हुन् । हालै सशस्त्र प्रहरी बलमा ६ जना डिआइजी बढुवा भएका थिए ।

मन्त्री थापाले भने, ‘स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गर्न तपाईँहरू जुट्नुहोस्, त्यसका लागि आवश्यक स्रोतसाधनको कमी भए मन्त्रालयलाई जानकारी गराउनुहोला कुनै कमी हुन दिइने छैन ।’

शान्ति सुरक्षा, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले गृह मन्त्रालयले तयार गरेको सुधार कार्ययोजना अनुरुप काम कारबाही अघि बढाउन निर्देशन दिएका हुन् । ‘फिल्डमा उच्च मनोबलका साथ काम गर्नुहोस्, तपाईँहरूलाई कुनै चुनौती आए गृह मन्त्रालयबाट सहयोग र संरक्षण हुनेछ,’ मन्त्री थापाले भने।

प्रतिक्रिया दिनुहोस