कोरोना खोपका लागि सरकारले माग्यो आर्थिक सहयोग (सूचना सहित)

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

पुष २९,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको खोप खरिद गर्न पत्रिकामा सुचना निकालेर आर्थिक सहयोगको आह्वान गरेको छ । मन्त्रालयले एक सार्वजनिक सूचना नै जारी गरेर कोषमा दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थालगायतलाई सहयोगका लागि आह्वान गरेको हो ।

खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ, सूचनामा भनिएको छ ।

राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बरसहित सूचना जारी गर्दै मन्त्रालयले कोषमा संकलित रकमबाट खरिद गरिने खोप लक्षित समूहहरुलाई निःशुल्क उपलब्ध गराइने जनाएको छ। सरकारले १५ वर्ष मुनीका २८ प्रतिशत जनसंख्यालाई छाडेर ७२ प्रतिशलाई कोरोनाविरुद्धको खोप लगाउने भनेको छ। ‘खोपले हजारौंको जीवन रक्षा गर्नुको साथै महामारी नियन्त्रण हुन गई आर्थिक तथा सामाजिक क्रियाकलाप सुचारु गर्न समेत महत पुग्ने अपेक्षा गरिएको छ’, सूचनामा उल्लेख गरिएको छ ।

पैसा कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० मा पैसा जम्मा गर्न सकिने मन्त्रालयको भनाइ छ। कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने र खोप कोषको आय व्यय नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम लेखा परीक्षण प्रचलित कानून बमोजिम गरिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस