संसद विघटन सम्बन्धी मुद्दा :संवैधानिक इजलासमा सुनुवाइ सुरु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ४, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ सुरु भएको छ । आइतबार निवेदकहरूले समय मिलाउन माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले इजलाशले होइन आफैं समय मिलाएर बोल्न निवेदकहरुलाई आग्रह गर्दै बहस सुरू गर्नुभएको हो । रिट निवेदकले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ भन्दै समय तोकिदिन माग गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस सुरु भएको हो । सुनुवाइ लगातार हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

यसअघिका बहस रिट निवेदनको सुनुवाइ बृहत् पूर्ण इजलास कि संवैधानिक इजलासमा गर्ने भन्ने बारेमा थियो । त्यसको टुङ्गो लागेसँगै आइतबारबाट संवैधानिक इजलासमा नै निरन्तर सुनुवाइ हुने भएको हो ।

यसअघि शुक्रबार गम्भीर संवैधानिक विषयको मुद्दा भएकाले उक्त रिटहरूमाथि संवैधानिक इजलासमा नै सुनुवाइ गर्ने टुंगो लागेको थियो । संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा गत पुस २२ र २९ गते पनि बहस भएको थियो ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो, सजसालाइ राष्ट्रपतिले सोही दिन अनुमोदन गर्नुभयो । प्रधानमन्त्रीको उक्त कदमविरुद्ध पुस ६ गते सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन दायर भएका थिए । ती रिट निवेदनमा प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको दाबी गर्दै संविधानको मर्मअनुरूप प्रतिनिधि सभा पुनर्स्थापना गरिदिन सर्वोच्च अदालतसामु माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस