चरणबद्ध रुपमा सबैलाई कोरोना खोपको व्यवस्था मिलाउन राष्ट्रपतिको आग्रह

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले विश्‍वमा कोरोना  विरूद्धको खोप नेपालले पनि खोप अभियान सुरू गरेकोमा खुसी व्यक्त गरेकी छन् । आज कोभिड १९ विरुद्धको खोप शुभारम्भको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले कोरोना महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप निस्शुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णय सराहनीय भएको भन्दै राष्ट्रपति भण्डारीले सबै नागरिकलाई चरणबद्धरूपमा खोपको व्यवस्था मिलाउन सरकारसँग आग्रह समेत गरेकी छन् ।

शुभकामना सन्देशमा भनिएको छ, कोरोनाको विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चूनौती दिइरहेको छ । यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन् । यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन । कोरोना विरूद्धको अभियानमा अग्रपंक्तिमा रही सेवा प्रदान गर्नुहुने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सफाई कर्मचारी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु । यसैगरी उहाँहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति सम्मान व्यक्त गर्दछु।

कोरोना महामारी नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ,’ सन्देशमा भनिएको छ, ‘यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ।खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालको तर्फबाट धन्यवाद दिन चाहन्छु।

प्रतिक्रिया दिनुहोस