मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, पर्वत। वैदेशिक रोजगारीको सिलसिलामा कुवेत लैजाने भन्दै श्रीलंका लगेर अलपत्र पार्ने सुवेदी कान्छो भनिने खेमबहादुर सुवेदीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–३ घर भएका सुवेदी उनको पुर्ख्यौली घर पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोेट, नयाँपुलबाट सोमबार पक्राउ परेका हुन् ।

अभियुक्त सुवेदीले कुवेतमा घरेलु कामदारका रूपमा लैजाने भन्दै काठमाडौंबाट नेपालगन्ज हुँदै भारतको नयाँदिल्ली पुर्‍याएर त्यहाँबाट चेन्नाई हुँदै श्रीलंका पुर्‍याएपछि एक महिला अलपत्र परेकी थिइन् । श्रीलंका पुर्‍याएपछि त्यहाँ सिरक खान र आलिक खानले आफ्नो साथमा राखेर घरबाट बाहिरसमेत जान नदिई थुनामा राखेको अवस्थामा श्रीलंकाली प्रहरीले पक्राउ गरी १० महिना थुनामा राखेको थियो ।

ती महिला श्रीलंकाको जेलमा रहेको थाहा पाएपछि कोलम्बोस्थित नेपाली दूतावासको सहयोगमा उनलाई नेपाल फर्काइएको ब्युरोले जनाएको छ । महिलालाई गएको माघ ३० गते नेपाल फर्काइएको थियो । ती महिलाको जाहेरीका आधारमा सुवेदीलाई पक्राउ गरी कारबाही अगाडि बढाएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस