असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ६, काठमाडौँ। यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

संशोधित शिक्षा नियमावलीमा, ‘महामारी वा यस्तै अन्य विपद् वा विकट हिमाली क्षेत्रका कारण शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था भएमा मन्त्रालयले शैक्षिक सत्र परिवर्तन गर्न सक्नेछ’ भन्ने वाक्यांश उल्लेख छ । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन अर्थात् एक हजार घन्टा पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्छ । सार्वजनिक बिदा, साप्ताहिक बिदाबाहेक करिब दुई सय दिन विद्यालय सञ्चालन हुन्छ । त्यसमा खेलकुद र अतिरिक्त क्रियाकलाप पनि समाबेस हुन्छ ।

शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो । तर, असोजबाटै वैकल्पिक सिकाइ प्रभावकारी रुपमा लागु हुन सकेन । सिकाइ सहजीकरणमा विद्यार्थी जोड्न नसकेका विद्यालयहरुले माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय सन्चालन सुरु गरेका छन् । अब सबै सार्वजनिक विदा कटौती गरेर पढाउनुपर्ने अवस्था आएको छ ।’ यो वर्ष पाठ्यक्रम संकुचन गरी ७० प्रतिशत बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस