विराटनगरमा ओली समूहको जनसभा हुदैं, सुरक्षा व्यवस्था कडा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

फाल्गुण ०७, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले भोलि प्रदेश १ को राजधानी विराटनगरमा वृहद जनसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगर महानगरपालिका–२ स्थित विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना गरिने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ओली शनिबार बिहान ११ बजे विमानस्थल हुँदै जहाजमार्फत विराटनगर ओर्लने कार्यक्रम रहेको प्रहरीले जनाएको छ । विमानस्थलदेखि सभास्थल र प्रधानमन्त्री पुग्ने सबै ठाउँमा सुरक्षा व्यवस्था कडा पारिने जानकारी प्रहरीले दिएको छ । सभालाई सम्बोधन गर्न ओली आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था अघिल्लै दिनबाट कडा पारिएको छ । ठाउँठाउँमा ठूलो सङ्ख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएका छन् । सादा पोसाकका सुरक्षाकर्मी पनि उत्तिकै सङ्ख्यामा खटाइएको छ ।

विराटनगरमा पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरेको अध्यक्षतामा सभा सम्पन्न हुने बताइएको छ । सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेता सुवासचन्द्र नेम्वाङ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । सभामा लगभग डेढ लाख नेताकार्यकर्ता उतार्ने तयारी गरेको छ । ओली समूहले यसअघि काठमाडौं, बुटवल, धनगढी लगायतका स्थानमा जनसभा गरिसकेको छ ।

विराटनगरमा आयोजना हुने प्रदेशस्तरीय सभालाई भव्य बनाउन बिहीबार राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीको संयोजकत्वमा विराटनगरमा भव्य मोटरसाइकल ¥याली निकालिएको थियो । ¥यालीमा विराटनगर महानगरपालिकाका विभिन्न वडासँगै मोरङको रंगेली, रतुवामाई, सुनवर्षी नगरपालिका, जहदा गाउँपालिका लगायतबाट करिब पाँच हजारको संख्यामा पार्टी कार्यकर्ताको सहभागिता रहेको उनको भनाइ छ । कोषाध्यक्ष बुढाथोकीका अनुसार पार्टी कार्यालयबाट निस्किएको ¥याली रोडशेष चोक, मुख्य बजार हुँदै पुष्पलाल चोक भएर पुनः ट्राफिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस