मुख्यमन्त्री राईलाई अस्थिरता सिर्जना गर्न अविश्वासको प्रस्ताव

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, विराटनगर। मुख्यमन्त्री शेरधन राईले प्रदेशमा अस्थिरता र अराजकता सिर्जना गर्ने उद्देश्यले आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको बताउनुभएको छ । प्रजातन्त्र दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले अविश्वासको प्रस्तावले प्रदेशमा अस्थिरताको सिर्जना भएता पनि विधिसम्वत आएको प्रस्तावलाई डटेर सामना गर्ने समेत उद्घोष गर्नुभएको छ ।

‘विधि सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ, सरकार भाग्न खोजेको छैन, पन्छिन खोजेको छैन । प्रदेश सरकारले जनताको शीर झुक्ने कुनै काम नगरेको मुख्यमन्त्री राईले उल्लेख गर्दै प्रचण्ड–माधव समूहतर्फ इंगित गर्दै भन्नुभयो, ‘कुहिएका फल र सुकेका पत्ताहरु झरे, तर हामी चुकेका छैनौं ।
देश ताजा जनादेशका लागि निर्वाचनमा गएको बताउँदै आगामी वैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन हुने बताउँदै उहाँले भन्नुभयो, ‘निर्वाचन हाम्रो चाहना थिएन । देशमा अराजकता सिर्जना गर्ने, अस्थिरता पैदा गर्ने प्रयास भएको कारणले प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु भएको छ ।’

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले मुख्यमन्त्री राईविरुद्ध १२ पुसमा प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । तर ओली समूहले अविश्वासको प्रस्तावमाथि छलफल गर्न दिएको छैन । सत्तारुढ दलले नै प्रदेशसभा बैठक अबरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस