चट्टान खोपेर पहिरो रोक्दै : मुग्लिन सडक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ४ मिनेट

पुस २०,चितवन ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा काटिएको भित्ता (चट्टाने भिर) खोपेर पहिरो रोक्ने प्रयास थालिएको छ । पहिरो जोखिम क्षेत्र छानेर अहिले सयौँ मजदूर चट्टाने भिर खोप्न व्यस्त छन् ।

‘रक क्लाइम्बिङ’ खेल जस्तै टल्कने ज्याकेट र पहेँलो हेल्मेट लगाएका मजदूर भिरभिरमा छन् । एक त पहिरो खस्ने जोखिम, त्यसमाथि ठाडे भिरमा चट्टान खोप्नु अत्यन्तै सकसपूर्ण काम हो । मजदूर जोखिम मोलेर दुई सातादेखि पहिरो रोक्न क्रियाशील छन् ।

मजदूर कतै फलामको डण्डीको भर्‍याङ (स्काफोल्डिङ)मा बसेर काम गरिरहेका छन् त कतै रुखमा बाँधिएको डोरीको अङ्कुशेमा अडिएर काममा व्यस्त छन् । कोही जाली बिच्छ्याउँदै र कोही चट्टानमा रड (किला) ठोकेर नटबोल्टको काम गरिरहेका छन् ।

उक्त कामलाई ‘रक नेटिङ’ र ‘रक बोल्टिङ’ प्रविधि भनिन्छ । कतै बायोइन्जिनीयरिङ काम पनि भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनीयर शिवप्रसाद खनाल बताउनुहुन्छ । उहाँले अहिले नारायणगढ–बुटवल सडकखण्डको काम हेर्ने जिम्मासमेत पाएका छन् ।

“विगतमा विभिन्न स्थानमा गरिएको रक नेटिङ प्रभावकारी छ, दुर्घटनाको जोखिम कम भयो, पहिरो खसे पनि एकैचोटि तल खस्न दिएन, त्यसैले अहिलेको जोखिम क्षेत्रमा पनि सोही काम थालिएको हो”, खनालले भने ।

चट्टान खोप्न यहाँको सडक सवारी साधनका लागि बिहान ११ बजेबाट ३ बजेसम्म बन्द गरिन्छ । यो क्रम यही २२ गतेसम्म जारी रहनेछ । त्यसपछि आवश्यकता हेरेर नयाँ निर्णय लिइने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार यहाँको विभिन्न आठ ठाउँमा काम जारी छ । गाईघाट, भोर्ले, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, तोपे खोला र कालीखोलामा पहिरो रोक्न मजदूर खटाइएको छ ।

सबैभन्दा ठूलो पहिरोको जोखिम चार किलो र तोपे खोलामा छ । पहिरो रोक्ने कामका लागि बज्रगुरु–छिमसगरमाथा र न्यू टेक्निकलको ज्वाइन्ट भेञ्चरमा काम भइरहेको छ । छ महिनाका लागि रु १४ करोडमा ठेक्का दिइएको हो ।

विश्व बैंकको बजेटबाट बचेको पैसाले यहाँको विभिन्न क्षेत्रको चार वटा पुल र रक नेटिङको काम गरिएको हो । विगतमा तीन पुल सम्पन्न भएको छ । जलविरेको बाँकी छ । गत वर्ष केही क्षेत्रमा रक नेटिङको काम भएको थियो । रकम बचेकाले यसपालि पनि प्रयोग गरिएको आयोजनाको भनाइ छ ।

यसरी गरिँदैछ काम

उक्त कामका लागि अहिले १०४ जना मजदूर चट्टान खोपेर पहिरो रोक्न खटिएका छन् । पहिलो चरणमा खस्न लागेको चट्टान र माटो निकालिन्छ । त्यसपछि चट्टान खोपेर ड्रिल गरी रड (किला) गाडिन्छ ।

सबै क्षेत्रको रडमा जाली राखेर नट कस्ने आयोजनाका सहायक इन्जिनीयर कमल नेपालीले बताउनुभयो । उहाँका अनुसार चट्टाने भिरको उचाइ १०५ मिटरसम्मको छ । तोपे खोलामा १०५ मिटर उचाइ र ६० मिटर लम्बाइमा काम भइरहेको छ । एउटा बोरामा आलु हाले जस्तै गरी चट्टानलाई मोर्ने गरिन्छ । जसका कारण चट्टान तल खस्न पाउँदैन र अन्ततः त्यहीँ जाम हुन्छ ।

माथिल्लो क्षेत्रको ढुङ्गामा पनि यसरी नै रड लगाइन्छ । एकअर्कामा तार जेलेर राखिन्छ । तलबाट पहिरो खस्न थाल्यो भने माथिको ढुङ्गाले पहिरो खस्न दिँदैन । यदि खसिहाल्यो भने पनि जालीमा अड्किएर बस्छ । ठूलो पहिरो आए विस्तारै खस्ने भएकाले मानवीय जोखिम कम हुन्छ । कतिपय पहिरो झुण्डिएर बसेको हुन्छ । समय निकालेर फ्याँक्न सकिन्छ । यो प्रविधि अन्तर्राष्ट्रिय रूपमा प्रयोग हुन्थ्यो । तर उक्त आयोजनाले प्रयोग गरेकाले विगतको अनुभवमा जोखिम कम भएको छ ।

एशियाली मापदण्डको छ सडक

नारायण–मुग्लिन सडक निर्माण (स्तरोन्नति) को काम २०७२ सालको शुरुबाट थालिएको थियो । कूल रु दुई अर्ब ९० करोडको ठेक्का सम्झौता थियो । पन्ध्र महिना ढिला गरी आयोजना २०७५ सालमा सम्पन्न भयो । आयोजनाको सबै गरेर कूल बजेट भने तीन करोड ९० लाख डलरको हो ।

सडकको कूल लम्बाइ ३४ किलोमिटरको हो । सडक चौडाइ बढीमा ११ र कम्तीमा नौ मिटरको बनाइएको छ । उक्त सडक एशियाली मापदण्डको बनेको छ । अहिले यहाँ यात्रा गर्ने यात्रु र चालक सहज महसुस गर्छन् । त्यही सडक स्तरोन्नति गर्दा काटिएको भित्तो खस्नाले विगतमा प्रहरीको गाडी नै बगाएको थियो ।

सडक विस्तारको काम थालिएपछि पहिरोमा सातजनाको मृत्यु भएको र अझै एक प्रहरी हराइरहेका छन् । साठ्ठी वटा गाडीमा क्षति पुगेको विवरण छ ।

नारायणगढ–मुग्लिन सडकको ३४ किलोमिटर क्षेत्रलाई तीन खण्डमा छुट्याएर नेपाल भारतका छवटा निर्माण कम्पनीले सडक चौडा पार्ने काम गरेका हुन् । चितवनको नारायणगढदेखि दासढुङ्गा १ नं, दासढुङ्गादेखि सिमलतालसम्म २ नं र त्यसपछि मुग्लिनसम्म ३ नं क्षेत्र छुट्याएर काम भएको हो ।

एक खण्ड बीएलए तथा श्रेष्ठ निर्माण कम्पनी, अर्काे खण्ड उडहिल तथा लामा निर्माण कम्पनी र तेस्रो खण्ड सुप्रिम तथा रौताहा निर्माण कम्पनीले काम गरेको हो । हरेक निर्माण कम्पनीमा एक–एक कम्पनी भारतीय थियो ।

विसं २०३६ मा नारायणगढ–गोर्खा सडकका रूपमा उक्त सडक निर्माण भएको थियो । साँघुरो भएपछि नेपाल–भारत व्यापार आयोजनाअन्तर्गत सडक विस्तारको काम २०७२ बाट थालिएको हो ।

भारतबाट यही सडक भएर ८० प्रतिशत सामान आयात हुने गर्छ । राजधानी काठमाडौँलाई मुलुकको पूर्वी र पश्चिमी भागसँग उक्त सडकले जोड्छ । चितवन प्रहरीका अनुसार उक्त सडक भएर दैनिक १० हजार गाडी गुड्छन् ।

प्रतिक्रिया दिनुहोस