शहरबाट काकालाई पत्र ……….

काका, गाउँघरमा त अव एक छाक खाना र एकसरो लुगा लाउनमा कुनै समस्या छैन तर यो राजधानी शहरमा त विहान खाए बेलुका के खाउँ, बेलुका खाए विहान के खाउँ भन्नुपर्ने स्थिति आइसकेको छ ।
Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ५ मिनेट

आदरणीय काका,
आज मिति २०७६ माघ २४ गते । यो राजधानीवासी भतिजको प्रणाम ! हुन त, नेपालमा गणतान्त्रिक शासन व्यबस्था छ । पहिला हजुरहरुको पालामा भन्दा अहिले परिवर्तनका रेखाहरु धेरै नै कोरिएको अवस्था छ । विश्व नै एउटा साँघुरो परिवेस भएको वर्तमान अवस्थामा एक कल फोन गरेको भएपनि हुन्थ्यो, किन पत्र लेख्नुपरेको भन्नुहोला, आजकल फोनमा न कुरा बुझिन्छ न त, मनका तीता मीठा कुराहरु पोख्न नै पाइन्छ, ऐन टि.सि.मा फोन गरौं त अभैm भत्केका टावरले काम नदिने अनि एनसेल फोन प्रयोग गर्न मेरो स्वाभिमानले दिदैन काका, किनकी राष्ट्को लागि तिर्नुपर्ने कर करिव ७२ अरब रुपैया नतिरेकोले हामी धेरै जनाले यो एनसेल फोन नै प्रयोग गर्न छोड्यौ । त्यसैले यो पत्र लेख्दैछु ।

काका, केहि दिन अगाडि श्याम भाई काठमाण्डौ आएर गाउँ घरतिरको सवै हाल खवर सुनाएको थियो । खुशि लाग्यो ! आजभोली त गाउँ घर पनि ज्यादै रमाइलो छ अरे ! शहरीया भई टोपलिएको सधै अस्तव्यस्त अनि अव्यबस्थित शहरमा रमाउने यो भतिज गाउँ घरतिर नआएको पनि धेरै भयो । हजुरले पनि एकपटक काठमाण्डौ घुम्न आउने रहर गर्नुभएको रहेछ, यहाँ आउनुु भन्दा अगाडि यहाँको वारेमा केहि कुराहरु पत्रमा जानकारी गराउन गैरहेको छु । काका, संसारका प्रायः देशका राजधानी शहरहरु ब्यबस्थित नै हुन्छन्, मानिसहरुले सभ्यताको खोल ओढेकै हुन्छ्न नीति नियमहरु कडा हुन्छ्न, प्रत्येक मानिसहरु नैतिक धरातलमा अडिएर आफ्नो दिनचर्या अगाडि बढाइरहेका हुन्छन् । तर यो हाम्रो देशको राजधानी शहरमा त अचम्मको संस्कार छ ! यहाँका प्रायः मानिसहरु सभ्यताको खोल ओढेर असभ्यताको परिचय दिइरहेका छन् । कि त भ्रष्टाचार गरेर कमाएको सम्पति कि गाउँ घरको झिटी झाम्टो बेचेर काठमाण्डौमा दुई चार आनाको जग्गामा वल्ल तल्ल जीवनभरको कमाई एउटा घरमा थुपारेको अहमता यहाँका मानिसहरुमा देख्न पाइन्छ ।

पहिला पहिला गाउँ घरमा बाघ भालुलगाएत अन्य जंगली जनावरहरुको डर र त्रासले जनजीवन भयभीत हुनेगर्दथ्यो तर यो राजधानी शहरमा त मानिस मानिस वीचमा नै त्रासको वातावरण पैदा हुने गर्दछ । यहाँ त दिउसै नारीमाथिको अस्तित्व लुटिएको छ, चोरी तथा डकैतिका घटनाहरु दिन दाहाडै देख्नमा र सुन्नमा आउँछन् । “जिउँदाको जन्ती न मर्दाको मलामी“ भने जस्तो कुनै ब्यक्ति विशेषले न कसैलाई सहयोग दिन चाहान्छ न त लिन नै । जताततै महँगीको मार, सरकारी कार्यालय तथा वित्तीय संस्थाहरुमा खुलम खुला घुस लेनदेनको कारोवार, यातायातको बढदो चाप, राजधानीमा वसोवास गरेमा स्वर्ग जान पाइन्छ भन्ने जस्ता मानसिकताले गर्दा मापदण्ड विपरित बनाइएका अव्यबस्थित घर टहराहरु तथा साँघुरा गल्ली सडकहरु, पानी र बत्तिको समस्या, वातावरणीय प्रदुषण, देशका विभिन्न भागबाट थुपरिएका संस्कृतिको मिश्रण, विदेशीने रहरले दलालमार्फत ठगीएर घर न घाट भई बसेका कयौ ब्यक्तिहरुको कथा व्यथा, आदि इत्यादि कुराहरुले काठमाण्डौ शहरको जनजीवन अस्तव्यस्त भइरहेको छ ।

काका, गाउँघरमा त अव एक छाक खान र एकसरो लुगा लाउनमा कुनै समस्या छैन तर यो राजधानी शहरमा त विहान खाए बेलुका के खाउँ, बेलुका खाए विहान के खाउँ भन्नुपर्ने स्थिति आइसकेको छ । गाउँ घरमा त दुई चार भारी दाउरा भयो भने एक डेड महिनाको लागि खाना पकाउन पुग्छ तर यहाँ त दिनानु दिनको महँगीको मार अनि ग्याँस तथा मटिट्तेलको अभावले गर्दा चाउचाउ र चाउमिनको भरमा गुजारा गर्नुपर्ने स्थिति आएको छ । बुवा ! वाल्यकालको जिन्दगी टुकी बत्तिमा वित्यो र शहरीया जिन्दगीको आनन्द पनि वाध्यतावस् टुकी बत्ती नै भएको थियो तर अहिले एकादेसको कथाजस्तो गरी केहि समाज सुधारक व्यक्तिको जन्म यो धरतीमा भएकाले नै होला आजभोली पहिलाजसरी शहरको गल्ली गल्लीमा गाउँघरको जस्तो जुनकिरीको उज्यालो खोज्नुपर्दैन ।

आखिर पहिले त दलाल पुजिपति विचौलियाहरुको बाहुल्यता र हरेक क्षेत्रमा उनीहरुले नै गाँजेर होला केहि मुट्ठीभरका व्यक्तिहरुको स्वार्थमा सरकार संचालन भएका हुन्थे तर अहिले यो गणतान्त्रिक सरकार भएर नै होला कम्सेकम जनताको लागि केहि जनहितको कामहरु भैराखेको आभास भने देशभरीका जनताले पाएका चर्चा परिचर्चाहरु सामाजिक सन्जालमा सुन्न र पढ्न पाइन्छ तैपनि आश्चर्यको कुरा त अझ यो छ कि गाउँ घरतिर खोला, जंगल र पहाडको छेउमा घर वस्तीहरु भएपनि बाघ, भालु र अन्य बन्यजन्तुहरु तथा पहिरोको डर छैन, मान्छेहरु त्यति पढे लेखेका नभएतापनि नैतिकता, मित्रता र सहिष्णुतामा कमी छैन ।

धनका धनी नभएतापनि मनका धनी छन् गाउँका मानिसहरु । सोझो गाउँले परिवेस, ताजा खाना, स्वच्छ वातावरण, हरियाली डाँडा काँडा, बन्दै गरेका सडकहरु र वल्दै गरेका विजुली बत्तिहरु आदिले गाउँघरको जिन्दगी नै भिन्दै प्रकृतिको भैसकेको रहेछ । तर काका, यता राजधानी शहरमा भने हरेक कुराहरुमा गाउँघरको ठीक उल्टो परिवेश छ । काका, एकपटक काठमाण्डौ आई बाग्मतीमा स्नान गरी पशुपतिको दर्शन गर्ने धोको छ भन्नुभएको थियो तर यहाँको बाग्मतीलगाएत अन्य नदीहरु त अव फोहोरको नालीमा परिणत भइसकेका छन् । प्राचीन धर्म अनि संस्कृतिको संगमस्थल भनेर चिनिने राजधानी शहर अहिले त हरेक मठ मन्दिरहरु जिर्ण अवस्थामा रहि जिर्णोद्धारको पर्खाइमा वसिरहेका छन् । तसर्थ काका, यो राजधानी शहरको अस्तव्यस्तताको कथा श्री स्वस्थानी ब्रतकथा जस्तो भएको छ, जसको वर्णन गर्न हजार जिव्रा भएको शेष नागले पनि गर्न नसक्ने यो कथा मैले कसरी वर्णन गर्न सक्छु र ! काका, अव सायद मेरो मन पनि गाउँ घरतिर नै बढि आकर्षित हुन थालेको छ । अतीतको कथा व्यथा सम्झेर ल्याउँदा भुल्न सकेको छैन ती गाउँका वस्तीहरु ।

कोही व्यक्तिबाट शहरीया जिन्दगीको रमझम सुनेर आप्mनो उज्जल भविश्यका बक्ररेखाहरु कोर्नको लागि त्यो कलिलो उमेरमा केहि साथीहरुसँग मध्यरातमा घरबाट भागेर काठमाण्डौ आएको आज, हिजो जस्तो लाग्छ तर तीन दसक काटिसकेछ यो समयको काँडेतार तर गाउँ घरको यादले उत्तिकै सताइरहेको छ मलाई । ती डाँडा पाखाहरुमा गाइ वस्तु चराउन जाँदाको क्षणहरु, डण्डी वियो र कपर्दी खेलेका ती दिनहरु आज मेरो मानस पलटमा नाचिरहन्छन् । ती रामे, हर्के अनि बाटुलीका दिनचर्याहरु आज पनि सम्झनामा नाचिरहन्छन् अनि आज प्रत्येक गाउँका वस्तीहरुले पर्खिराखेका छन् ती विदेशीएका युवाहरुलाई अनि जो शहरमा रमाउन खोज्नेहरु छन् तिनलाई धिक्कारीरहेका छन् ती गाउँका पाखा पखेरीहरुले । तसर्थ सम्झिन मन लाग्छ लक्ष्मी प्रसाद देवकोटाको कविता“ साग र सिस्नु खाएको बेस आनन्दी मनले “ भनेजस्तो अव हामी जस्ता युवाहरुले शहरी अस्त व्यस्तताको जिन्दगी भन्दा पनि स्वच्छ गाउँले परिवेशलाई त्याग्नु हुँदैन भन्ने मान्यतालाई अङ्गीकार गरी गाउँ फर्किएर परिवर्तनका रेखाहरु कोर्ने विचारकासाथ म छिट्टै नै गाउँ फर्किदै छु काका ।

हवस्त,काका वल्लो पल्लो घरका सवै जनालाई धेरै धेरै सम्झना अनि नमस्कार सुनाइदिनु, आफ्नो ज्यानको हेरविचार गरी संधै स्वस्थ, व्यस्त अनि हाँसी खुशी रहनु भन्दै पत्रबाट विदा हुन्छु ।

उही अभागी भतिज खिमराज गिरी ।
सोतिपसल, टक्सार ९, लमजुंङ्ग,
हालः काठमाण्डौ

प्रतिक्रिया दिनुहोस