धार्मिक र जातीय सद्भावले भरिपुर्ण शहर हो नेपालगञ्ज : उपमेयर थापा

न्यायिक समितिले कानुन जान्नुपर्दछ त्यसैले म एल.एल.वि को विद्यार्थी पनि हुँ
Khabar24Nepal Author Logo..
खबर२४नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

माघ २८,बाँके। मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख ब्यापारिक शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार, नेपालगञ्ज उप महानगरपालिकाको उप मेयर उमा थापा मगरसँग गरिएको संम्वाद ।

तपाईको नजरमा नेपालगञ्ज उप–महानगरपालिका कस्तो उप–महानगरपालिका ?

यो सद्भावको शहर हो । यहाँ मिश्रित समाज छ । एक अर्काप्रति सद्भाव र सहअस्तित्वको भावना जागृत भएको,मुस्लिम, हिन्दु, पहाडी, तराई सवै समाजका मानिसहरु एक आपसमा मिलेर वनेको यो नेपालगञ्ज उप–महानगरपालिका हो ।

पहिला केहि हिँसात्मक घटनाहरु भएता पनि आजकल एकदम राम्रो वातावरण छ । विकासको हरेक काममा आम जनताको सहभागिता छ । मध्यपश्चिमाञ्चल बिकास क्षेत्रको केन्द्र बिन्दु तथा प्रमुख ब्यापारिक शहर बाँके जिल्लामा अवस्थित पश्चिम नेपालको द्धार, नेपालगञ्ज नगरी, नेपालकै नामबाट स्थापना भएको प्रमुख शहरको रुपमा परिचित स्थान हो । यो शहर बिक्रम सम्बत २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भई २०१९ सालमा नगरपालिकाको रुपमा स्थापित भएको हो ।

नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ मंसीर १६ गतेको निर्णयबाट साविकका १० वटा गा.वि.स. गाभेर २७ वटा वडा कायम गरि नेपालगंज उप–महानगरपालिका घोषणा गरियो र २०७२।०६।०१ को निर्णयबाट पुरैनी गा.वि.स. गाभेर २८ वडा कायम गरिएको छ र मिति २०७३।११।२७ को निर्णय अनुसार साविकका २८ वडा परिमार्जन भई २३ वटा वडा कायम गरिएको छ । पुर्व – पश्चिम राजमार्गबाट १० किलोमिटर दक्षिणमा पर्ने नेपाल भारत सिमा नाकासंग जोडिनु यो शहरको अर्को बिशेषता पनि हो । सुदुर पश्चिमाञ्चलका सबै जिल्लालाई राजधानी काठमाण्डौं संग जोडने जिल्लाको पहिलो नगरपालिका भएकै कारणले पनि यस उप–महानगरपालिकाको महत्व आफैंमा बढेको छ ।

तपाइले भन्नुभयो जातीय सद्भावको शहर भनेर तर तपाईहरुलाई यहा काम गर्न कतिको सहज छ ?
समग्रमा काममा सहजता छ, शिक्षित नागरिकको अभावले गर्दा काममा केहि वाधा व्यबधानहरु आउनु स्वभाविकै हो । यहाँ खास त शिक्षा र स्वास्थ्यमा आम नागरिकको पौच पुग्न सकेको छैन, धार्मिक र जातीय सद्भावले गर्दा काममा केहि सहजता भएतापनि यहा वाल विवाहलाई रोक्न धेरै कठीनाई भएको अवस्था छ ।

शुसिल कोइराला जस्तो राजनेताको क्षेत्रमा तपाइले यो पदको उम्मेद्धवार कसरी बन्नु भयो ?

यस्लाई मैले अवसरको रुपमा लिएको छु, २०७० सालको निर्वाचनमा मलाई समानुपातिक तर्फ उम्मेदवारमा सिफारिस गरिएको थियो तर मनोनित गरिएन, तैपनि म निरन्तररुपमा पार्टीको राजनीतिमा लागि परे, तीन चार वर्ष पार्टीमा संघर्ष पनि गरे, पत्रकारीता क्षेत्रलाई पनि सँगसँगै लिएर अगाडि वढ्दा एन.जि.ओ हरुमा पनि काम गर्ने अवसर पाएँ र यसरी १२–१५ वर्षको अवधिसम्म पार्टीमा सेवा गरी टिकट पाउनु एउटा अवसर पनि हो, किनकी नेताहरुसँग चिनजान पनि भयो, विभिन्न सामाजिक सेवामा लागि पनि परियो र अवसर पाइयो ।

उप मेयर पाउनु भनेको सानो त्यागले होइन, तपाई युवा पत्रकार, खेलाडी, जनजाती, महिला पनि हुनुहुन्छ, त्यसमा उप महानगरपालिकामा रहेका युवा पत्रकार, खेलाडी, जनजाती, महिला प्रति तपाईको योजना के छ ?

निर्वाचित हुनुभन्दा अगाडि मेरो योजना ठूलै थियो तर जव निर्वाचन भएर आइयो देस वल्लतल्ल संघियतामा प्रवेस गरेको, त्यहिमाथि पनि हरेक काम गर्नको लागि शुरु शुरुमा कानुनको अभाव पनि भयो, यसलाई जग वसाल्न समय लाग्दोरहेछ, उप–महानगरपालिका लाई संस्थागत गर्ने कुराहरुमा धेरै लागि पनि परियो, तर कुरा के मा गएर अल्झिन पुग्यो भन्दा यस भन्दा अगाडि करिव वीस वर्षसम्म कर्मचारीहरुले शासन गरेका र उनीहरु अनुभवी पनि तर हामीसँग काम गर्ने सिलसिलामा एक आपसमा सहअस्तित्वको भावना नराख्नाले केहि समयसम्म कामको अनुभव बटुल्न अलि मुश्किल पनि भयो, यस विचमा विभिन्न विधामा कानुन वनाउनु पर्यो, हरेक विकासको काममा नीतिगतरुपमा शुरु शुरुमा समेट्न गाह्रो पर्यो ।

अर्कोतर्फ खेलाडीको कुरा गर्दा १५ वर्ष अगाडि म गोल्ड मेडलिष्ट र रु पाँच हजार पुरस्कार पाउँदा जति खुसी लागेको थियो र त्यहि खुसीले गर्दा आज खेल सम्बन्धि कार्यविधि बनाएर खेलाडीको सुविधाको लागि केहि हदसम्म सहज वातावरण पनि वनाएका छौं, खलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम र वजेटको पनि व्यबस्था गरिएको छ । यसको साथै पत्रकारीता अक्षयकोषको स्थापना पनि गरेका छौं । महिला तथा बालबालिकाहरुको हक हितालाई ध्यानमा राखि नीतिगत कुराहरुमा पनि ध्यान दिएका छौ ।

काँग्रेस पार्टीमा राजनीति पहिलेदेखि नै गर्नुहुन्थ्यो कि, पत्रकारीता क्षेत्रमा लागेपछि ?

पहिले देखि नै हो । पत्रकारीतामा आउनुभन्दा अगाडि ने.वि.सघको केन्द्रिय सदस्य, कोषाध्यक्ष भएँ र पछि अध्यक्ष पदको लागि पाउन सकिन र पत्रकारीतालाई पनि निरन्तरता दिँदै आएँ । खास त म रहरले पनि यो क्षेत्रमा लागि परे र उक्त समयमा विभिन्न एन.जि.ओ, मा काम गर्दै गर्दा विभिन्न ठाउँहरु अलि पहाडी क्षेत्रहरुतिर पनि जानुपर्दथ्यो र त्यहाँ जाँदा महिलाहरुका समस्यासँग पनि परिचित भएँ । पहिला पहिला महिलाहरु कति पीडित हुन्थे तर ती खवरहरु पत्र पत्रिकामा आउँदैनथे ।

यो नगरपालिका भारतीय सिमासँग जोडिएकोले सुरक्षाको दिृष्टिकोणमा कतिको संवेदनशिल छ ?

हामीले नागरिक समाज र प्रहरी प्रशासनसँग सहकार्य गरि अगाडि वढेका छौ, सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको अवधारणालाई अगाडि बढाइएको छ । यसमा लागु औषध वेच विखन नियन्त्रण सम्बन्धि कार्यक्रम पनि हुदैछ, र अन्य संघ संस्थासँग पनि सहकार्य गरी परामर्श केन्द्रको पनि स्थापना गर्दैछौ ।

तपाई न्यायिक समितिमा पनि हुनुहुन्छ, यसमा कसरी काम भइरहेको छ ?

यो विल्कुलै नयाँ जिम्मेवारी हो , काम गर्न गाह्रो छ, न्यायिक समितिले कानुन जान्नुपर्दछ । त्यसैले म एल.एल.वि तेश्रो वर्षको विद्यार्थी पनि हुँ , मेल मिलापको माध्यमबाट १३ वटा विषयमा मुद्या छिनो फानो गर्न पाउनुपर्ने भन्ने छ , मेलमिलापकर्तालाई कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा एउटा गाइड लाइन वनाएका छौ, यो देसमा नै पहिलो नमूना हो, तैपनि अदालतले गरेको जस्तो निर्णय यो न्यायिक समितिले गरेको हुदैन, यसलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्दछ भन्ने हाम्रो बुझाइ छ ।

हरेक कार्यक्रममा महिला सहभागिता कतिको छ ?

महिलालाई पहिलाको तुलनामा राम्रो प्राथामिकता दिइएको छ, हामी जुन समुदायको वसोवास छ , त्यहाँ त्यहिअनुसारको कार्यक्रम राख्दछौ, यो वर्ष महिला कलेजको स्थापना गर्ने निर्णय गरेका छौ, महिलाको हक हितको लागि व्यपार व्यवसायलाई पनि ध्यान राखिएको छ, महिला हितको लागि कोशेली घरको स्थापना गरेका छौ जसमा महिलाले मात्र ऋण लिने र उनीहरुले गरेको उत्पादन विक्रि वितरण गर्दा निश्चितरुपमा तोकिएको ठाउँबाट गर्ने जसले गर्दा महिलाहरुलाई किस्तावन्दीमा सहुलियतपूर्ण ऋण लिन सजिलो पनि भयो र महिलाको आर्थिक पाटो वलियो भयो, यसको लागि वडासँग कसरी समन्वय राख्ने भन्ने सम्बन्धमा समय समयमा कक्षा पनि लिइन्छ र हरेक कुराहरु सिकाइन्छ जसले गर्दा पहिलेको तुलनामा महिलाहरुको जिवनस्तर पनि माथि उठेको महशुस मैले गरेको छु ।

केन्द्रिय सरकारले पर्यटन वर्ष २०२० भनेर अभियान चलाएको छ, यसमा यस उप महानगरपालिकाले पर्यटनका सहभागिता जुटाउनको लागि कस्तो व्यबस्था गरेको छ ?

हामी यसलाई सफल बनाउन प्रयत्नसील छौं, राजधानी काठमाण्डौंबाट करिव ६०० किलोमिटर पश्चिमको दुरीमा रहको यहाँका पर्यटकिय क्षेत्रहरु वाटरपार्क, बागेश्वरी तलाउ, रानी तलाउ, फुल्टेक्रा तलाउ, महेन्द्र पार्क तथा मिनी जु र बागेश्वरी चिल्ड्रेन पार्क आदिको सम्बर्धन गर्न लागि परेका छौ, भारत र नेपालको नाका नजिक पर्यटक सूचना केन्द्र स्थापना गरेका छौ । जसले गर्दा विभिन्न सम्भावित पर्यटकीय स्थलको परिचय, प्रचार प्रसार गर्नको लागि सजिलो भएको छ।

राजनीतिप्रति कतिको त वितृष्णा भएका युवाहरुलाई के भन्नु हुन्छ ?

राजनीति यस्तो क्षेत्र हो जसले कतिखेर युटर्न गर्छ थाहा छैन, यसमा प्रतिफलको आशा गर्नुहुदैन, राजनीतिमा चाहना भएपनि समाज परिवर्तन गर्ने दायित्व मुख्य राजनीतिज्ञको नै हुन्छ, राजनीतिलाई व्यबशायमा परिणत गर्नुहुदैन, राजनीतिलाई फोहोरी खेलकोरुपमा समावेश गर्नुहुदैन तर राजनीति नभई समाज वदलिन सक्दैन, यो धरातलीय यर्थाथ हो ”।

प्रतिक्रिया दिनुहोस