हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिकको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।

रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टीलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुन थालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बीओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिए । यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ ।

दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको हो । चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मङ्सिर पहिलो सातातिर सिमकोट सर्ने तयारी गरिरहेको हो। मङ्सिर लागेसँगै हिल्सा, लिमीलगायत उच्च क्षेत्रमा रहेका प्रहरी चौकी जिल्ला सदरमुकामतिर सर्ने गरेका छन् । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस