“माफ गर दिदि बहिनि यो बर्ष पनि तिहारमा घर आउन पाईन”

Khabar24Nepal Author Logo..
खगेन्द्र अवोस्थि पढ्न लाग्ने समय : ५ मिनेट

बेलुका ओभर काम गरेछु क्यारे ! बिहान उठ्दा आँखा रातै भएको चाल पाएँ जब ऐना अघाडी मेरो आफ्नो झुस्स परेको अनुहार देखेँ ।

ओभर ड्युटि गर्दागर्दै हिजो राती पनि जम्मा तिन घन्टा मात्रै सुतेछु क्यारे ।

दार्ही नकाटेको पनि आज अठ्ठाइस दिन पुगिसकेछ । ऐना अघाडी आज अठ्ठाइस दिन पछि आफ्नै अनुहार हेर्दा पनि चिन्नै हम्मे हम्मे पो पर्यो । घरदेश बाट परदेश झरेपछी ज्यान सुकेको पनि आजै ठूलो ऐना अघाडी आफ्नो शरीर देखेपछि चाल पाएँ ।

हातको घडी हेरेँ , छ बजिसकेको थियो । काममा निस्किने समय भैसकेको थियो । हतार हतार पछाडिपट्टि फाटेको जिन्स प्वाइन्ट लगाएर कामतिर निस्किएँ ।

बेला बेला त सोच्छु मेरो जिन्सको प्वाइन्ट र मेरो मन उस्तै उस्तै त हुन् नि ? मन पनि निकै ठाउँमा फाटेको छ, छेद परेको छ अनि यो प्वाइन्ट पनि त यस्तै छ ।

हुन त कपडाको धर्म नै फाट्नु हो, फाट्छ ।

कपडा त निकै चोटि सियो र धागोले सिलाएँ तर मन … तर मन अहँ केही गरि पनि सिलाउन सकिएन ।

अर्काको देश , जति नै मन लगाएर काम गरेपनि जति नै इमानदारी पुर्वक काम गरेपनी, मेसिनझै चौबीसै घन्टा खटेपनि अहँ कसैले थाकिस् होलास् समेत भन्दैनन् ।

काम गर्दागर्दै दिउँसो मोबाईलमा फोनको घन्टी बज्यो । निकालेर हेरेँ, घरबाट बहिनि ले पो फोन गरिछिन् ।

काम गर्ने बेला फोन उठाउनै नमिल्ने । फोन उठाएको चाल पाए सेटले कामबाटै निकालिदिने । घरमा फोन नभएको पनि एक महिना पुग्नै आँटेको थियो । सेटलाइ छलेर बहिनिको फोन उठाएँ ।

मैले यताबाट हलो भन्न नपाउँदै उताबाट बहिनिको सुक्क सुक्क गरेको आवाजले मनलाई क्षदबिक्षद बनाईदियो ।

“यो साल पनि तिहारमा घर नआउने दाइ ?” हिक्हिकाएर रुँदै बहिनी बोलिन् ।

बहिनिको आवाजले बोल्नै सकिन । मनलाई रुवाइदियो । आँसु रोक्न सकिन । आँखा बाट आँसु खसेर भुइँमा झरे ।

“कति निष्ठुरी है दाइ हजुर ? तपाईं लाई त आमा बुबा अनि हाम्रो माया लाग्दैन है दाइ ?”

बहिनी ले फेरि रुँदै भनिन् ।

म बोल्न सक्ने स्थितिमा थिइनँ । बहिनी भन्दा बढी हिक्हिकाएर रुन मन थियो तर अहँ सकिन ।

समयले अनि गरिबिले यस्तो ठाउँमा पुर्याइदिएछ कि जहाँ न त खुलेर हाँस्न सक्छु न त खुलेर चिच्यार रुन नै !

“सन्चै छौ ? आमा बुबालाइ कस्तो छ नि नानी ?” मनलाई सम्हालेर म बोलेँ ।

“दम बढेको छ बुबालाई । औषधि किन्ने पैसा छैन दाइ .. हजुर को चिन्ता अनि बुबाको चिन्ताले आमा ले खानै खानुभएको छैन.. ”

बहिनिको बोलाइले मेरो मनलाई पोलिरहेको थियो । बोली अड्किन खोज्यो मेरो ।आँखा बाट आँसु मौनतामै खसिरहेका थिए । आँखा का आँसु बायाँ हातको बाहुला ले पुछ्दै भने,

“पैसा छिट्टै पठाइदिउँला.. मेरो चिन्ता नगर्नु म ठिक छु..आमाबुबा को ख्याल गरे नानी !”

“सबैका दाइ आइसके । यो तिहारमा पनि हजुर नआउने दाइ ?” बहिनी फेरि बोलिन् ।

“यो तिहारमा पनि आउन सक्दिन बहिनी । मन नदुखाए बाहिनी ! यता मेरो निधार खाली भएपनि त्यता तिम्रो हात खाली नराखे ! उही पुरानो तस्विरमा टीका लगाइदिए… ”

मैले यत्ती भन्न नपाउँदै बहिनी झन् रुन थालिन् ।

मैले पछाडिबाट सेट आएको चाल पाएँ ।

हतारहतारमा फोन काटेँ र मोबाइल खल्तीमा राखेँ अनि काम गर्न थालेँ ।

धन्न सेटले फोन गरेको चाल पाएनछ । बहिनी संग तिहारको बेला पनि धित मरुन्जेल फोन गर्न पाइएन ।

मैले राख्छु नभनिकनै फोन राखेर होला बहिनिले निकै चोटि फोन गरिन् तर सेट संगै भएकोले फोन उठाउन सकिन ।

तिहारको बेला पनि नभनिकनै फोन काट्यो, फोन उठाएन दाइले भन्दै बहिनिले निकै चित्त दुखाइन् होला ।

दिनभर मन बिथोलिरह्यो मेरो, मन दुखिरह्यो ।

बहिनी को मन न हो, दाइ आएन भन्दै मन निकै दुखाइन् होला मेरो बहिनिले ।

वल्लोपल्लो गाउँका सबै परदेशिएका दाजुभाइहरु घर फर्किए होलान् । परिवार संग खुशी साँटासाँट गरे होलान् । नयाँ नयाँ लाए होलान् ।

आगनमा हरियो गोबरले पोते होलान् ।

वर्षदिनसम्म अँध्यारो वरपरका गाउँमा मैनबत्ती जले होलान् ।

झिलिमिली बत्तिले राती पनि राती जस्तो देखिदैन होला । आगनमा गाउँका भाइबहिनी हरु सुरिलो आवाजमा खुशीले देउसिभैलो खेल्दैछन् होला तर भित्र मेरो बहिनी खुशी खोज्न परदेश हिँडेको दाइलाई सम्झेर आँसु बगाउँदैछिन् होला ।

मेरि आमा घरको बार्दलिमा बसेर बर्षौ देखि घर छोडेर परदेशिएको मलाई सम्झेर आफ्ना चाउरी परेका गाला आँखाको नुनिलो पानीले भिजाउँदैछिन् होला ।

मेरो बुबा सुकेको घाँटीले “ख्याक ख्याक” गर्दै खोक्दै घरमा आफू मर्नु भन्दा पहिले नै छिट्टै परदेशिएको छोरा पुगे हुन्थ्यो भन्ने कामना गर्दै हुनुहुन्छ होला ।

तर म अहँ फर्किन सकेको छैन छिट्टै । स्वदेश फर्किने मन नभएको कहाँ हो र मेरो । तर मैले परदेश छोडेर घरदेश जानै लाग्दा गरिबिका हातहरुले मेरा खुट्टालाई परदेशतिरै तानिदिन्छ्न् ।

बहिनिले फोन गर्दै सुँक्क सुँक्क रुँदै “दाइ घर कहिले फर्किने” भनेको पनि आज पाँच वर्ष लाग्न थालेछ ।

अनि मैले बहिनि लाई “छिट्टै फर्किन्छु नानी, बाबा आमाको ख्याल गर्नु” भनेको पनि आज पाँच वर्ष लागिसकेछ ।

मैले घरपरिवार छोडी म जन्मेको स्वर्ग छोडी यो मरुभुमिमा आएको पनि पाँच वर्ष भइसकेछ ।

बहिनी मलाई पनि त रहर छैन नि हजुरहरु बिना यो बिरानो ठाउँमा बसेर पचास डिग्रीको घाम सहेर काम गर्न ।

जब मलाई काम गर्दैगर्दा खाडिको पचास डिग्रीको घामले पोल्छ तब देश फर्की दिउँ लाग्छ । अर्काको देशमा दुनियाँ को दास भएर बस्नु भन्दा आफ्नै देशमा बरु लास भएर फर्किउँ लाग्छ तर त्यतिनैबेला आमाको फाटेको चोली सम्झन्छु ।

आमाको खुट्टामा चप्पल समेत लाउन नपाएर फुटेका कुर्कुचा सम्झन्छु । अलिकति पानी पर्दा पनि चुहिने घरको छानो सम्झन्छु । बेलाबेला साहु आएर त्यही ओत लाग्ने घर पनि आफ्नो नाम गर्दिन्छु भनेको सम्झन्छु । प्रत्येक राती गरिबिले हजुरलाइ रुवाएको र आँसु हजुरका चाउरी परेका गालामा झरेका सम्झन्छु । हामिलाइ खाना खुवाएर हजुरले आफूले अलिकति दाल मात्रै खाएर अघाएँ म त भनेको सम्झन्छु ।

जब म यी सबै कुरा सम्झन्छु तब यो खाडिको घामले भन्दा पनि बढी पोल्छ यी कुराहरुले ।

प्रतिक्रिया दिनुहोस