राज्यमन्त्री मानन्धरले राखे विश्व रेकर्ड

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १०, काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड सम्म गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् ।

बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्ड कायम गरेका हुन् । राज्यमन्त्री मानन्धरले गायनका क्रममा ५९ वोटा गित गाएका थिए । उनले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका हुन् । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए । नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अरुणा लामालगायतले गाएका गीतको ट्रयाकमा मन्त्री मानन्धरले गाएका थिए। मन्त्री मानन्धरले सबै गीतहरुको रोयल्टीसमेत तिरेर गाएका हुन् ।

यो विधामा आयोजना गरिएको कार्यक्रम विश्वको पहलो भएकोले वर्ल्ड बुक अफ रेकर्डमा पहिलोपटक राज्यमन्त्री मानन्धरको नाम लेखिएको छ । कार्यक्रममा प्रधानमन्त्रीकि पत्नी एवं प्रथम महिला राधीका शाक्यले राजनीति र गायन सँगै अघि बढाउन सफल भएकोमा मन्त्री मानन्धरलाई बधाई दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस