अध्यक्ष पुष्पकमल दाहालद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । पार्टी मुख्यालय धुम्बराहीमा आज ‘बोगटीको छैटौँ स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले बोगटीको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका हुन् ।

नेता बोगटी २०७१ साल भदौ ३० गते हृदयाघातका कारणले निधन भएको थियो । एकीकृत माओवादीको हेटौँडामा भएको सातौँ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । उनले सरकारको ऊर्जा, सूचना तथा सञ्चार, पर्यटन नागरिक तथा उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन नुवाकोट क्षेत्र नं ३ बाट उनी प्रत्यक्ष तर्फबाट निर्वाचित भएका थिए । उनी नुवाकोट साविकको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते जन्मिएका थिए ।

प्रतिक्रिया दिनुहोस