कैलालीकी पत्रकार पहराई मृत्यु प्रकरणः आरोपी प्रेमी १ लाख धरौटीमा छुटे

Khabar24Nepal Author Logo..
खगेन्द्र अवस्थी पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, कैलाली । कैलालीकी पत्रकार निर्मला पहराइको हत्या आरोपमा पक्राउ परेका एकजना धरौटीमा रिहा भएका छन् भने एक जनालाई कारागार चलान गरिएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर १ की पहराइको हत्या आरोपमा पक्राउ परेका उनका सहकर्मी समेत रहेका प्रेमी ललित जाग्री एक लाख धरौटी बुझाएर रिहा भएका हुन्।

जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले थुनछेक बहसपछि भएको हत्या आरोपी जाग्री र उनकी अर्की प्रेमी भनिएकी धना साउँदलाई एकरएक लाख धरौटीमा छाड्न आदेश दिएको बताए। उक्त आदेशपछि जाग्री एक लाख धरौटी बुझाएर रिहा भएको सूचना अधिकारी नेगीले जानकारी दिए। तर जाग्रीकै प्रेमिका भनिएकी धना साउँद भने धरौटी बुझाउन नसकेर कारागार चलान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।

भदौँ ३१ गते घरबाट हराएकी पहराई असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका–५ को सामुदायिक वनमा मृत भेटिएकी थिईन्। रेडियो कैलालीमा कार्यरत पहराई र उनका सहकर्मी समेत रहेका जाग्रीबीच प्रेम सम्बन्ध थियो। प्रेम सम्बन्धकै कारण जाग्रीले उनको हत्या गरेको भन्दै पविारले कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस