रक्षामन्त्री पोखरेल र नेपालका लागि पाकिस्तानका राजदूतबीच भेटेवार्ता

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ३१, काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि पाकिस्तानका राजदुत डा. मजर जाबेदबीच विदाइ भेटवार्ता भएको छ । आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किनु अघि जाबेदले सिंहदरबारमा रक्षामन्त्री पोखरेलसँग भेट गरेका हुन् । भेटमा पोखरेलले नेपाल र पाकिस्तानबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको समयदेखि हालसम्म असल र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गरे । त्यसक्रममा दुई देश बीचको सम्बन्ध सरकार(सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको बताए ।

पोखरेलले पाकिस्तानले चिकित्सा शास्त्र अध्ययन‚ सैनिक तालिम तथा प्रशिक्षण जस्ता क्षेत्रमा नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि यस किसिमको सहयोग निरन्तर जारी रहने विश्वास व्यक्त गरे । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसी हित र सहयोगका नयाँ क्षेत्रहरू पहिल्याउँदै अघि बढ्न आवश्यक रहेको कुरामा पोखरेललेको जोड थियो ।

पोखरेलले पाकिस्तानका उद्यमी, व्यवसायीहरूलाई नेपालको कृषि, पर्यटन, उद्योग, जलविद्युत लगायतका क्षेत्रमा लगानी विस्तार गरी दुवै देशबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ तुल्याउन सहयोग गर्न आग्रह पनि गरे । राजदूत जाबेदले नेपाल र पाकिस्तानबीच असल कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै आफ्नो नेपाल बसाइको अवधिमा नेपाल र पाकिस्तानबीच शिक्षा, व्यापार¸ पर्यटन,उद्योग र कृषि लगायतका क्षेत्रमा सहयोग प्रवर्द्धन गरी दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको बताए ।

दुई देशका सेनाबीच समेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको कुरा उल्लेख गर्दै महामहिम राजदूतले तालिम, प्रशिक्षण तथा उच्चस्तरीय भ्रमण मार्फत दुई देशको सेनाबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुगिरहेको जनाए ।

प्रतिक्रिया दिनुहोस