बडादशैं शुरु, घरघरमा जमरा राखेर घटस्थापना गरिँदै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १, काठमाडौँ । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । आज नवरात्रीको पहिलो दिन घटस्थापना पर्दछ । आज घरघरमा जमरा राखेर घटस्थापना गरिँदैछन । घटस्थापनाको उत्तम साईत बिहान ११ बजेर ४६ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं घर वा पूजा कोठामा कलश स्थापना गरि दुर्गा भवानीको आह्वान गर्ने गरिन्छ ।


कलशलाई दुर्गा भगवतीको प्रतीकका रुपमा पूजा गरी नदीबाट ल्याएको पानी र बालुवामा धान, गहुँ, जौं आदि छरेर घटस्थापना गर्ने गरिन्छ । घटस्थापना गर्नु भनेको नवरात्रीको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटकलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु हो । जमरालाई देवी भगवतीको मनपर्ने फूलका रुपमा लिइन्छ। त्यसैले जमरा राखेको स्थानमा कलश स्थापना गरि अबको ९ दिन सम्म देवी दुर्गा भगवतीका विभिन्न ९ रुपको आराधना गर्ने गरिन्छ ।

दशैंको पहिलो दिन आज शैलपुत्री देवीको पूजा गर्दै घटस्थापना गरिँदैछ । पर्वत राज हिमालयको पुत्रीका रुपमा जन्म लिएकीले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा वर्णन गरिएको छ । शैलपुत्रीको आराधना गर्नाले धन, सौभाग्य मोक्ष प्राप्त गर्नुका साथै रोग व्याधी र दीर्घ रोगबाट मुक्ती पाउने शास्त्रीय मान्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस