विदेशबाट नागरिक ल्याउन सातै प्रदेशमा ‘फोकल पर्सन’

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ६, काठमाडौँ । सरकारले विदेशबाट फर्किनेहरुको व्यववस्थापन गर्न सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीहरुलाई ‘फोकल पर्सन’ तोकेको छ । उच्चस्तरिय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेहरुको व्यवस्थापनका विधिका बारेमा छलफल भएको हो ।

भारतसहित तेस्रो मुलुकबाट आउनेहरुको व्यवस्थापन कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तयार पार्नेछ । उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्ने गरी फोकल पर्सन तोकिएको हो ।

जसमा संघीय सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजकको जिम्मेवारी दिएको छ । त्यस्तै प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, बागमतिमा महिला वालवालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन रहने गरी तोकिएको छ ।

रोजगारीको सिलशिलामा विदेशमा रहेका तर कोरोना संक्रमणका कारण अलपत्र परेका नेपाली नागरिकलाई सरकारले फिर्ता ल्याउने भएको हो । स्वदेश फिर्तीसम्बन्धी कार्ययोजना र कार्यविधि मन्त्रिपरिषदबाट पारित भएपछि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काइने भएको छ । सबै पक्षका सुझावहरु लिएर विदेशबाट फर्काउने र त्यसपछिको व्यवस्थापन गर्ने सम्बन्धमा कार्यविधि बनाएर मन्त्रिपरिषद बैठकमा पेश गरिने भएको हो । स्वदेश ल्याउने सुरक्षाका विधि, ल्याइसकेपछि क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने व्यवस्था र त्यसपछि सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर घर पठाउने लगायतका विषयमा कार्यविधि बन्दैछ ।

प्रतिक्रिया दिनुहोस