महामारीका वाबजुद पनि विकास तथा समृद्धिको यात्रालाई अघि बढाइरहेका छौंः प्रम ओली

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारीको वाबजुत पनि मुलुकको विकास र समृद्धिको यात्रालाई निरन्तरता दिइरहेको बताउनुभएको छ ।

आज छठ पर्वको शुभकामना सन्देश व्यक्त गर्दै प्रधानमन्त्री ओलीले देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाई, दिदीवहिनीहरुलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको सुभकामना व्यक्त गर्नुभएको छ । यस महामारीमा मानव स्वास्थ्य सुरक्षाका लागि तोकिएका मापदण्ड अनुशरण गर्दै विशेष सावधानी अपनाएर यसवर्षको छठ पर्व मनाउन सबैमा आह्वान गर्नुभएको छ । ‘यस महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन, मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएको छ ।’ उहाँले भन्नुभएको छ, ‘यसले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको छ । यस महामारीका वाबजुद मुलुकको विकास तथा समृद्धिको यात्रालाई हामीले अघि बढाइरहेका छौं ।

वर्तमान समयमा लोकतान्त्रीक संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै उहाँले सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको बताउनुभयो । राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दै एकतामार्फत् हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने छौं भन्ने विश्वास दिलाउनुभयो ।

प्रतिक्रिया दिनुहोस