• २०८१ बैशाख १५ गते शनिवार

हरिशयनी एकादशी : तुलसी रोप्ने दिन

पढ्न लाग्ने समय : २ मिनेट
  • डा. उत्तम उपाध्याय न्यौपाने

हरिले शयन गर्ने दिनलाई चतुर्मासाको एकादशी पनि भनिन्छ। यो आजबाट प्रारम्भ भएको छ। आषाढ शुक्ल पक्षको हरिशयनी एकादशी महान् पुण्यमय, स्वर्ग एवम् मोक्षदायिनी, सबैको पाप नाश गरिदिने उत्तम व्रतका रूपमा मानिन्छ। यस दिन कमल पुष्पले कमलनयन भगवान् विष्णुको पूजा गरी जसले व्रत लिन्छ उसले तीनै लोक ब्रह्मा, विष्णु, महेश सनातन देवताको पूजा गरेको फल प्राप्त गर्दछ।

हरिशयनी एकादशीको दिन हरिको एक रूप मानिएको छ। एक रूप राजा बलिकोमा रहन्छन् भन्ने हाम्रो जनविश्वास रहेको छ। अर्को रूप क्षीर सागरमा शेषनागको शैयामा शयन गर्दछन् र कार्तिक शुक्ल पक्षको ठूलो एकादशीका दिनमा जागा हुन्छन्।

हरिशयनी एकादशीको व्रत अनुष्ठान गर्नेले परमगति प्राप्त गर्दछ। शङ्ख, चक्र, गदाधारी भगवान् विष्णुको भक्तिपूर्वक पूजा गरी राति जागरण गर्नुपर्दछ। द्वादशीका दिनमा “ॐ नमस्ते वामनाय नम:” मन्त्र १०८ पटक जप गरी दूबो र घिउले आहुति दिनुपर्दछ। पराँसको पातमा भोजन गरी भूमिमा शयन गर्नाले सम्पूर्ण पाप कल्मषहरू नाश हुन्छन् भनेर व्याख्या गरिएको छ।

आज तुलसी रोप्ने दिन रहेको छ र आजबाट ४ महिनासम्म चतुर्मासा रहन्छ। असार शुक्ल एकादशीका दिनदेखि हरि भगवान् ४ महिनासम्म क्षीर सागरमा शयन गर्नुहुन्छ त्यसैले यसलाई हरिशयनी एकादशी भनिएको हो। यस दिनदेखि शयन गरेका हरि भगवान् कार्तिक शुक्ल एकादशीका दिन कोल्टे फेर्नुहुन्छ र त्यस दिनलाई हरि परिवर्तिनी एकादशी पनि भनिन्छ। भगवान विष्णु सुतेपछि सारा जगत् सुत्दछ र उनी जागेपछि सारा जगत् जाग्दछ भन्ने मान्यता छ। विष्णु जागा हुने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ र यो कार्तिक शुक्ल एकादशीका दिनमा पर्दछ। हरिशयनी एकादशीमा रोपेको तुलसीको विवाह हरिबोधिनी एकादशीका दिनमा सम्पन्न गरिन्छ। यसो गर्दा सहस्र कन्यादान गरेसरह पुण्य मिल्दछ भन्ने विश्वास रहेको छ। जसरी शैव धर्ममा बेल पत्रको महत्त्व छ, त्यसै गरी वैष्णव धर्ममा तुलसीको महत्त्व रहेको छ। जुन घरमा तुलसी रोपेको छ वा तुलसीको काठको सङ्ग्रह छ भने त्यस घरमा कलियुगको पाप लाग्दैन भन्ने जनविश्वास रहेको छ।

हरिशयनीको दिनलाई चतुर्मासा एकादशी पनि भनिन्छ। आजबाट ४ महिनासम्म भगवान् विष्णु यस लोकमा रहनुहुने भएकोले घर-घरमा हामीले छोडेको कार्बन डाइअक्साइड तुलसीले लिएर हामीलाई अक्सिजन दिनुहुन्छ भन्ने विज्ञानले पनि प्रमाणित गरेको छ।

लेख उहाको फेसबुक पेजबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस