• २०८१ बैशाख १३ गते बिहिवार

नेपाल प्रहरीको बन्ने भयो क्राइम डिभिजनको आफ्नै हिरासत भवन

पढ्न लाग्ने समय : २ मिनेट
  • सागर थापा/काठमाडौं

भाद्र २४, काठमाडौं । नेपाल प्रहरीले अपराधको विशेष अनुसन्धान गरी अभियुक्तलाई पक्राउ गर्न सक्षम महानगरीय अपराध महाशाखा (क्राइम डिभिजन) को आफ्नै हिरासत थिएन ।

पक्राउ गरेर ल्याइएका कतिपय अपराधी, अभियुक्तलाई थुन्नका लागि उसले महानगरीय प्रहरी परिसर काठमाडौंको सहारा लिने गरेको थियो । नजिकै रहेको परिसरमा थुनुवाका कारण हिरासत नै खचाखच हुने समस्या पनि थियो । अब भने उक्त समस्या समाधानोन्मुख हुन लागेको छ । महाशाखाको अत्याधुनिक भवनसहित हिरासत कक्ष समेत बन्ने भएको छ ।

त्यसो त भूकम्प गएयता महाशाखाकै कार्यालय एउटा पार्टी प्यालेसमा पाल टाँगेर भइरहेको थियो । प्रहरी महानिरिक्षक (आईजी) सर्वेन्द्र खनालको पहलमा नै महाशाखाले मुहार फेर्न लागेको हो । खनाल आफैं पनि महाशाखाको प्रमुख भएर जाँदा सोही कार्यालयमा रहेर काम गरेका थिए ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालय र अर्थ मन्त्रालयले प्रहरीको महाशाखा र परिसर भवन बनाउनका लागि १ अर्ब ६८ करोड रुपैयाँ विनियोजन गरेको थियो । अपराध महाशाखासहित भद्रकालीमा काठमाडौं प्रहरी परिसरको पनि नयाँ भवनको शिल्यान्यास हुनेछ ।

‘अहिलेसम्म हिरासत थिएन । तीन सय थुनुवा राख्न सक्ने क्षमतासहितको भवन बन्न लागेको हो’, महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सहकुल थापा भन्छन्, ‘अहिलेको कठिनाईबाट मुक्ति पाउँदै महाशाखाले प्रभावकारी काम गर्न सक्छ ।’

भूकम्पले हनुमानढोकामा रहेको भवन भत्किए पछि महाशाखा र परिसर टेकुस्थित एउटा पार्टी प्यालेस र सरकारी खाद्यान्नलगायतका सामग्री भण्डारण गर्ने ठाउँमा सरी काम चलाउँदै आएका थिए । टेकुस्थित नेशनल ट्रेनिङको भवनको केही भाग लिएर काठमाडौं प्रहरी परिसरले काम चलाउँदै आएको छ । मंगलबार नै यी दुवै भवनको आइजी खनालले शिल्यान्यास गरेका छन् ।

प्रतिक्रिया दिनुहोस