Banner News खेलकुद समाचार समाज

कुवेतद्वारा भुटानमा खेल्न अस्वीकार

कात्तिक २२, काठमाडौं । नेपालको दशरथ रंगशालामा मंसिर ३ गतेका लागि तय भएको नेपाल र कुवेतबीचको खेल भुटानमा खेलाउने एन्फाको प्रस्तावलाई कुवेतले अस्वीकार गरेको छ ।

सन् २०२२ को कतार विश्वकप अन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि नेपालले कुवेतलाई दशरथ रंगशालामै खेलाउने तयारी गरेको थियो । तर, एसियाली फुटबल महासंघ (एएफसी) का प्रतिनिधिले बन्दै गरेको दशरथ रंगशालामा खेल खेलाउन नमिल्ने जिकिर गरेको थियो ।

एएफसीले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएपछि एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानलाई प्रस्ताव गरेको थियो । कुवेतले भुटानमा भिषा, चिसो मौसम लगायत समस्या देखाउँदै नखेल्ने जनाएको छ । कुवेतको समस्या देखाउँदै एएफसीले फेरी एन्फालाई अर्को विकल्प दिन पत्राचार गरेको छ ।

एन्फा अहिले नयाँ स्थलको खोजीमा छ । कुवेतविरुद्धको खेल दशरथ रंगशालामा खेल्न नपाउँदा एन्फालाई एक करोडभन्दा बढी रुपैयाँ घाटा पनि लागेको छ । दशरथ रंगशालामा खेल भएको भए एन्फाले दर्शक शुल्कबाट मात्र एक करोड रुपैयाँ आम्दानी गर्ने थियो ।

यसअघि भुटानले पनि दर्शकबाट उठेको गेट मनी एन्फालाई नै दिने जनाएको थियो । कुवेतको अस्वीकारपछि एन्फालाई थप संकट परेको छ । छनोट अन्तर्गत यसअघि कुवेतमै खेलिएको पहिलो खेलमा नेपाल ७–० गोलले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *