Banner News समाचार समाज

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

कात्तिक २५, काठमाडौं । दाङ, बारा र महोत्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

दाङ घोराही उपमहानगरपालिका १० अमराईस्थित सडकमा रा २ प ५९९७ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही उपमहानगरपालिका सौटीकुला बस्ने कमला सुनारको छोरी ६ वर्षीया शान्ता सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको छ ।

फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका ३ डम्मरगाउँस्थित सडकमा रा १ क ६९० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ बस्ने लाल बहादुर विकका एक वर्षीय छोरा राजकुमार विकलाई उपचारको लागि कोहलपुर बाँकेतर्फ लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारा जितपुर सिमरा उपमहानगरपालिका १ स्थित सडकमा ना ७ ख २०२ नम्बरको बसले ना ५५ प ६४४१ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका ४ कमलडाँडा बस्ने ५८ वर्षीय उदयराज सापकोटाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार मृतककी श्रीमती ४० वर्षीया दुर्गा सापकोटालाई उपचारको लागि सिमरास्थित अल्पाइन अस्पताल लगिएकोमा थप उपचारको लागि बयोध्या अस्पताल वीरगन्ज रिफर गरिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी गाउँपालिका २ महोत्तरी गाउँस्थित सडकमा ज १ त २२३४ नम्बरको ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही ठाउँ डेरा गरी बस्ने जलेश्वर नगरपालिका ३ घर भएका रविन्द्र कुँवरकी तीन वर्षीया छोरी सोनीकुमारी कुँवरको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा आइतबार साँझ मृत्यु भएको छ । फरार ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *