गौमुखीमा किसानहरू आन्दोलित, पशु चौपायासहित आन्दोलन गर्ने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

माघ २०, प्युठान । गौमुखी गाउँपालिकाले कृषि क्षेत्रमा विनियोजन गरेको बजेट गैर कृषि क्षेत्रमा रकमान्तर गरेको भन्दै कृषकहरू आन्दोलित भएका छन् ।

संयुक्त कृषक संघर्ष समिति र नेपाल व्यवसायिक बाख्रा पालन समितिको संयुक्त आयोजनामा गौमुखी गाउँपालिका कार्यालयको प्राङ्गणमा आज किसानहरूले नाराबाजी गर्दै बिरोध स्वरूप आन्दोलन गरेका छन् ।

संयुक्त कृषक संघर्ष समितिका संयोजक गोवर्द्वन थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल व्यवसायिक बाख्रा पालन समितिका केन्द्रीय सदस्य सन्तोष केसीले कृषकहरूलाई उत्साहित गरी कृषि क्षेत्रलाई प्रबोधीकरण गर्ने बेला उल्टै गाउँपालिकाले कृषिको बजेटलाई रकमान्तर गर्दै अनुत्पादक क्षेत्रमा लगानी गर्न खोज्नु भनेको नेतृत्वको अदुर्दर्शीपन तथा योजनाबिहिन मानसिकताको उपज भएको बताए । केसीले भने, ” स्थानीय सरकारको कृषकमारा नीतिलाई आम किसानहरूले पूर्ण रूपमा खारेज गर्नेछन् ।” त्यस्तै कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का प्रतिनिधि ज्ञानुमाया केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य भरत बहादुर केसी, बाख्रा व्यवसायी तथा राजनीतिकर्मी मान बहादुर थापा लगायतले किसानहरूलाई थिचोमिचो एवं हेप्ने स्थानीय सरकारलाई कुनै दिन तिनै कृषकहरूले धुलो चटाएर छोड्ने बताए ।
गौमुखी गाउँपालिकाले योजनाबद्ध रूपमा कृषकहरूलाई निरूत्साहित गर्ने कार्यलेले ठुलो अन्तरविरोध उत्पन्न भएको उद्योग वाणिज्य संघ गौमुखी बजार इलाकाका अध्यक्ष जनक केसी बताउँछन् । कृषि कार्यक्रमको बजेट अन्य क्षेत्रमा भएको रकमान्तरले कृषकहरू आन्दोलित भएको देखियो, अब के हुन्छ भनी प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीलाई सोध्दा पहिले कार्ययोजनाबिना नै बजेट विनियोजन गरिएकोले कार्यान्वयन गर्न कठिनाइ हुनेभएपछि सम्बन्धित वडाका वडा अध्यक्षको रायसल्लाहअनुसार गाउँ सभाले बजेट रकमान्तर गरेको जानकारी दिदै आगामी वर्षमा बजेट विनियोजन गर्दा विषेश ध्यान दिने बताए ।
गौमुखी गाउँपालिकाको गाउँ सभाले वडा नं. १ को कृषि तर्फको पुरै ३० लाख बजेट गैर कृषि क्षेत्रमा रकमान्तर गरेको छ। त्यसै गरी वडा नं. ४ को कृषि तर्फको २६ लाख रकम सडक लगायत गैर कृषि क्षेत्रमा, वडा नं. ५ को कृषि क्षेत्रको १९ लाख ३० हजार अन्य क्षेत्रमा रकमान्तर गरेएको छ। बाख्रा खरिद लगायत पशुपालनलाई टेवा पुराउने उद्देश्यले विनियोजित १८ लाख १२ हजार मध्ये जन प्रतिनिधी र कर्मचारी भ्रमणमा पाँच लाख सहित १७ लाख १२ हजार रकम गैर कृषि क्षेत्रमा रकमान्तर गरेको छ। त्यसै गरी वडा नं. २ अर्खाको विकट वस्तीका किसानहररूलाई व्यवस्थित गरी एकीकृत वस्ती विकास गर्न ५० लाख बजेट छुट्टाइएको थियो। गाउँ सभाबाट एकीकृत बस्ती विकासको पुरै ५० लाख बजेट सडकमा रकमान्तर गरिएको छ।

संघर्ष समितिका संयोजक गोवर्द्धन थापाले गाउँपालिकाको यस्तो खालको कृषकमारा नीतिलाई कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताउदै अबको आन्दोलन कृषि सामग्री एवं पशुचौपायासहित गाउँपालिका घेराउ गर्ने हुन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस