तारकेश्वर नगरपालिकाका लामवगर लगायत विभिन्न वडाका सडकहरु पिच हुँदै

Khabar24Nepal Author Logo..
खिमराज गिरी पढ्न लाग्ने समय : ४ मिनेट

फागुन १, काठमाडौं । काठमाण्डौ जिल्लाको उत्तरी भेगमा अवस्थित तारकेश्वर नगरपालिका आफैमा धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको नगरपालिका हो । गत हप्ता मात्र यस नगरपालिकाको छैटो नगर सभा सम्पन्न भएको छ र उक्त सभामा ता.न.पा.ले अहिलेसम्म केन्द्र, प्रदेस तथा स्थानिय तहबाट विभिन्न चरणमा विनियोजित बजेटबाट सम्पन्न गरेका विकासका योजनाहरु, सम्पन्न हुँदै गरेका कार्य योजनाहरु प्रस्तुत गरेको थियो ।

यसै अन्तर्गत तारकेश्वर नगरपालिकाको महत्वपूर्ण क्षेत्रकोरुपमा चिनिने वडा नं.८ अन्तर्गतको लामवगरको सडक ”जुन महादेव खोलाको किनारा हुँदै निर्माण गरिएको छ,” पिच हुने कार्य यहि फागुनको पहिलो साताबाट शुरु हुँदैछ । ता.न.पा.वडा नं.८ का वडाध्यक्ष मनोजकुमार घिमिरेका अनुसार फागुन पहिलो साता लामवगरको सडक शेषमतीदेखि गैरीगाउँ महादेव मन्दिरसम्म बाटोमा भएको धुलो हटाई सफा गर्ने र फागुन १२ गतेसम्म शेषमतीदेखि महादेव मन्दिरसम्म पिच गर्ने कार्य सम्पन्न गरिनेछ । उक्त समयसम्मको लागि यातायात तथा यात्रु आवत जावतमा असुविधा पर्ने भएकोले सवारी आवागमनको लागि गैरी गाउँ मन्दिरबाट पारी धर्मस्थली र गोलढुङ्गा वडा नं. ४ र ५ को बाटो हुँदै शेषमतीसम्म बैकल्पिक मार्ग मिलाइएको र महादेव मन्दिरदेखि जरंखु पुलसम्मको बाटोको हकमा डिमार्केसनको समस्याले गर्दा केहि समय लम्बिन जाने व्यहोरा पनि उहाँले अवगत गराउनु भयो ।

यसरी ता.न.पा.अन्तर्गत केन्द्र, प्रदेश, ता.न.पा.कासाथै शहरी विकास प्राधीकरण आदिबाट विभिन्न वडाहरुमा बजेट निकासी भएबमोजिम केहि योजनाहरुमा नगरपालिका र उपभोक्ता समिति मिलेर ५०÷५० प्रतिशत रकम व्यहोरी साझेदारी कार्यक्रम अन्तर्गत सडक पिच तथा ढलान गर्ने काम धमाधम भइरहेका छन् जसमा वडा नं. ८ मा पर्ने सुन्दर कैलास वस्तीमा पनि करिव १ कि.मि.बाटो ढलान गर्ने कार्य सम्पन्न भएको छ । यसैगरी शितला गृहदेखि लामवगरसम्म जोडिने बाटोमा पनि ढलान गर्नको लागि योजना छनौट गरिएको कुरा सोहि टोल सुधार समितिका अध्यक्ष सुजन तिमल्सेना (पल्लभ) तथा वडा नं.८ का वडाध्यक्ष मनोजकुमार घिमिरेले जानकारी दिनुभयो । यसैनुरुप सार्वजनिक खेल मैदानकोरुपमा चिनिँदै आएको मनमैजुको एक आकर्षक स्थान टुसाल चौर, पिपलबोट नजिकरहेको करिब ३५० (तीन सय पचास ) मिटरको बाटो ता.न.पा.का मेयर रामेश्वर वोहोरा र वडा नं.८ का वडाध्यक्ष मनोजकुरमार घिमिरेको विशेष पहलमा शहरी विकास प्राधीकरणबाट अनुदानस्वरुप रकम निकासा गरी ढलान गर्ने कार्य अवको दुई तीन दिनमा सम्पन्न हुँदैछ ।

यसैनुरुप पिपलबोटबाट शिव मन्दिरसम्मको बाटो पनि मर्मत तथा सुधारको कार्य निकट भविश्यमा हुँदैछ । यसरी विभिन्न वडा र नगरस्तरीय योजनाहरु कार्यान्वयन भएका र हुँदै गरेका, स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम, प्रदेश पुर्वाधार साझेदारी विकास कार्यक्रम अनुरुप केहि उपभोक्तामार्पmत र केहि कार्य योजनाहरु ठेक्कामार्पmत गराउने सम्झौता भएको कुरा पनि वडा नं. १ का जनप्रतिनिधि तथा तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले जानकारी गराउनु भयो । यसैगरी विभिन्न विषयगत शाखाबाट संचालित कार्यक्रमहरुमध्ये कृषि, स्वास्थ्य, पशु सेवा, शिक्षा, महिला तथा बालबालिका शाखाहरु अन्तर्गत विभिन्न चरणमा स्वीकृत भएका कार्यक्रमहरुमा केहि सम्पन्न भएका र केहि कार्यक्रमहरु सम्पन्न हुन बाँकि रहेको कुरा पनि जानकारी गराइएको छ ।

यसरी तारकेश्वर नगरपालिका अन्तर्गत पर्ने विभिन्न वडाहरुमा सडक पिच गर्ने कार्यदेखि अन्य विभिन्न कार्यहरु धमाधम भइरहेका छन् र जनतासँग प्रत्यक्ष सरोकार रहने विषयदेखि लिएर विकास निर्माणका काममा तारकेश्वर नगरपालिका अन्गर्तत रहेका विभिन्न वडाका जनप्रतिनिधिहरुलगाएत वडाका सदस्यहरुले पनि आप्mनो व्यक्तिगत घर परिवार र समयको प्रवाह नगरी सामाजिक काममा लागिपरेकोमा आम जनमानसमा कम्सेकम खुशीको लहर छाएको छ र हाम्रा चिया पसल, चोक अनि चौतारीहरुमा यत्र तत्र जनप्रतिनिधिका कामको मुल्याकन गरेको पाइन्छ । हुन पनि हो प्रजातन्त्र भनेको विधिको शासन हो र जनतालाई जनताद्धारा शासन गर्ने प्रणाली नै प्रजातन्त्र भएकोले हरेक सामाजिक काममा जनचासो हुनु अस्वभाविक होइन । अनि जनताको खवरदारीले नै जनप्रतिनिधिमा अझ चेतना र सामाजिक सेवाको भावमा बृद्धि हुने भएकोले पनि होला साधारण जनस्तरबाटसमेत यस्ता कामको चियो चर्चो र मुल्याँकन भयो भने तवमात्र विकासले फड्को मार्दछ ।

तर हरेक कामको लागि जनप्रतिनिधिको मात्र दायित्व सम्झिने हो र तपाई हामी चुप लागि दैलो अगाडिको फोहोर पनि जनप्रतिनिधि आएर फालिदिन्छन् भन्ने मानसिकता बनायौ र नैतिकता, इमान्दारिताको धरातलमा खडेरी लाग्यो र यसलाई मेट्दै गयौं भने हामी सदैव विकासबाट पछाडि नै परिने कुरामा दुईमत छैन तसर्थ हाम्रा हरेक काममा जनप्रतिनिधिलाई झक्झक्याउने र आफु पनि संलग्न हुने वातावरण मिलाई जनप्रतिनिधिले पनि हरेक टोल सुधार समितिमा प्रतिनिधि खटाई अहिले सम्म भएका र गरेका कामको विवरण प्राप्त गर्ने र अव गर्नुपर्ने जनसरोकारका विषयहरुवारे समय समयमा टोल सुधार समितिका पदाधिकारीहरुलाई बोलाएर चर्चा परिचर्चा गरी काममा पनि संलग्न गराउने वातावरण वनाइयो भने अवश्य पनि हामी अन्य नगरपालिका भन्दा हरेक पक्षमा एक कदम अगाडि हुने नै छौं ।

प्रतिक्रिया दिनुहोस