चारखाल अड्डाको जिर्ण पर्खाल भत्काएर नयाँ बनाउँछौं : मन्त्री मानन्धर

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १५, काठमाडौं । डिल्लीबजार कारागारको बाहिरी क्षेत्रको भग्नावशेष चारखाल भवन व्यवस्थापनमा सहरी विकास मन्त्रालयले चासो देखाएको छ । वर्षा लागेसँगै जिर्ण भवन भत्किएर जनधनको क्षति हुने अवस्था देखिएपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले व्यवस्थापनमा चासो देखाएका हुन् । कारागारको बाहिरी क्षेत्रमा रहेको जिर्ण भवनहरुको व्यवस्थापनका लागि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्थलगत अनुगमन गरेका छन् ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालसहितको टोली लीएर मन्त्री मानन्धरले चारखालको अनुगमन गरेका हुन् ।अनुगमनका क्रममा मन्त्री मानन्धरले जिर्ण अवस्थामा रहेको चारखाल अड्डाको भवन भत्काउने र पर्खाल निर्माणका लागि आवश्यक समन्वय गरिने बताए । मन्त्री मानन्धरले चारखालको आफ्नै इतिहास रहेको बताउँदै जिर्ण अवस्थामा रहेका संरचना हटाएर पर्खाल लगाउने काम शुरुवात गरिने बताए । मन्त्री मानन्धरले पुरातत्व विभागसँगको छलफलपछि जिर्ण संरचना भत्काउने काम थालिने बताउँदै चारखाललाई व्यवस्थित बनाउने बताए । वर्षाको समयमा पुराना जिर्ण संरचना भत्कने जोखिम बढेको बताउँदै मन्त्री मानन्धरले पुरातत्वले आवश्यक अध्ययन र अनुसन्धान सकेर भत्काउने अनुमति दिए २४ घण्टाभित्र अस्तव्यस्त संरचना पन्छाउने बताए । संरचना पन्छाएपछि स्थानीय तह र स्थानीयसँगको छलफलमा उक्त स्थानमा नयाँ संरचना वा पार्क बनाउन सकिने मन्त्री मानन्धरको तर्क छ ।

काठमाडौं महानगरको वडा नम्वर ११ का अध्यक्ष हिरालाल तण्डुकारले जिर्ण संरचना जुनसुकै बेला भत्कन सक्ने र मालपोत कार्यालय तथा केन्द्रीय कारागारमा आउने सर्वसाधारण तथा कर्मचारीहरु जोखिममा रहेको बताउँदै विपद् व्यवस्थापनमा मन्त्रीले चासो देखाएकोमा खुसी व्यक्त गरे । पुरातत्व विभागले संरचनाबारे अध्ययन गर्नुपर्ने भन्दै भत्काउन रोक लगाएको बताउँदै तण्डुकारले स्थानीयमा त्रास थपिएको बताए । विभागका महानिर्देशक गेलालले भग्नावशेकको संरचना पन्छाउने र नयाँ पर्खाल लगाउने काम तत्काल थाल्न समस्या नभएको बताउँदै पुरातत्व विभागसँग आवश्यक छलफल गरिने बताए ।

भग्नावशेष व्यवस्थापनबारे आज पुरातत्व विभागका अधिकारीसहित सरोकारवालाको छलफल हुँदै छ । असार पाँच गते कारागारको बाहिरी क्षेत्रको पुरानो भवनको एक भाग भत्किएको थियो भने डिल्लीबजार मालपोत कार्यालयको छेवैको भवन पनि भत्किन लागेको छ । संरचना पुरातात्विक महत्वको हुनसक्ने भन्दै पुरातत्व विभगले थप अध्ययन गर्ने बताएको थियो ।

प्रतिक्रिया दिनुहोस