सुनवल नगरपालिकाद्वारा निर्माणाधीन हिलपार्क क्षेत्रमा वृक्षारोपण

Khabar24Nepal Author Logo..
जीवन न्यौपाने पढ्न लाग्ने समय : २ मिनेट

असार १५, पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाद्वारा वडा नम्बर १ मा निर्माण गर्न लागिएको हिलपार्क क्षेत्रमा सोमबार वृक्षारोपण गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको १५ लाख रुपैयाँ आर्थिक र प्राविधिक सहयोगमा निर्माणाधीन हिलपार्कमा जाने बाटो क्षेत्र वरिपरि वृक्षारोपण गरिएको हो ।

सो क्षेत्रमा बोटलपाम १ सय ४ करबिर ३ सय ५० घण्टिफुल २ हजार १ सय स्वामि २३ कल्कि १ सय अशोका ५ सय गार्डेन कटेन १ सय रोयल पाम ५० गरि अन्य १६ प्रजातिका ४ हजार ६ सय ९८ सौर्न्दर्यबर्धक विरुवा खरिद गरि १ हप्तामा वृक्षारोपण कार्य सकिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति बुटवल कार्यालयका प्रमुख अजय कार्कीले जानकारी दिए । कार्कीले सो विरुवा खरिदमा मात्रै १३ लाख ६२ हजार रुपैयाँ खर्च भएको वताए । हिलपार्क निर्माणाधीन क्षेत्र चुरेको काखमा नै रहेको र भविष्यमा त्यस क्षेत्रमा पर्न सक्ने पानी, माटो र वातावरणीय क्षतिको असरलाई मध्यनजर गर्दै त्यसको संरक्षणका निमित्त वातावरणमैत्री विकासको स्वरुप वृक्षारोपणका लागी चुरे संरक्षण विकास समितीले सो आर्थिक रकम तथा प्राविधिक सहयोग गरेको उनको भनाई छ ।

वृक्षारोपण कार्यका लागी चालु आर्थिक वर्षको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका सुचिकृत बेरोजगार व्यक्तिहरूलाई खटाइएको नगरपालिकाका रोजगार संयोजक शकर पन्थीले बताए । सो वृक्षारोपण कार्यक्रम उद्घाटनका प्रमुख अतिथी नगरप्रमुख भिम बहादुर थापा क्षेत्रीले पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नका लागी सुनवल नगरपालिकाले हिलपार्क निर्माण कार्यलाई १५ वर्षे गौरवको योजनाको रुपमा अगाडि बढाएको र आफुहरुको योजनालाई प्रदेश सरकारले सहयोग गरेको बताए । हिलपार्क निर्माण सम्पन्न पश्चात अबलोकनका लागी आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य वृद्धि हुने क्षेत्रीको विश्वास छ ।

सुनवल चौराहा देखी झन्डै साढे ४ किलोमीटरको दुरिमा निर्माण गर्न लागिएको हिलपार्कका लागी ५ नम्बर प्रदेश र नगरपालिकाले बराबरी आर्थिक लगानीमा सहकार्य गरिरहेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षमा हिलपार्क निर्माण क्षेत्रसम्म जानका लागी बाटो निर्माण, बिजुलि, खानेपानी र शौचालयको निर्माण सम्पन्न गरिसकेको छ । कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल, प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नगरका कर्मचारी, उधोग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्य, स्थानिय समाजसेवी लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस