• २०८० चैत्र १६ गते शुक्रवार

जिल्ला अदालतका दोभाषे घुस रकम सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १९, कपिलवस्तु । कपिलवस्तु जिल्ला अदालतमा दोभाषेको रुपमा सूचिकृत विश्वनाथ कुर्मी (चौधरी) उपर बिगो रु. २,००,०००।– कायम गरी घुस लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर विशेष अदालत, काठमाडौंमा दर्ता गरिएको छ ।

जिल्ला अदालत, कपिलवस्तुमा दोभाषेको रुपमा करारमा कार्यरत चौधरीले ठगी मुद्दामा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसमाग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीसँग रु. २,००,०००।–(दुई लाख) घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा कपिलवस्तु जिल्ला अदालतको शाखा अधिकृत पदबाट अवकास प्राप्त भई सोही अदालतमा दोभाषेको रुपमा सूचिकृत उनले ठगी मुद्दाको कपिलवस्तु जिल्ला अदालतबाट हुने थुनछेक आदेशको क्रममा धरौटीमा छाड्ने प्रयोजनका लागि सहजीकरण गरिदिने भनी उक्त ठगी मुद्दाका व्यक्तिसँग बदनियतपूर्वक रकमको वार्गेनिङ गरी अदालतका कर्मचारीहरुलाई उक्त मुद्दा सहजीकरणको काम गराउनका लागि मनाउने उद्देश्यले घुसदिन वाध्य पारेका थिए ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर अपराध गरेको देखिंदा उनलाई बिगो रु. २,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) मा उल्लेख भए बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस