• २०८० चैत्र १६ गते शुक्रवार

कांग्रेस बैठक : १४औं महाधिवेशन ७–१० फागुनमा

तल्ला तहका अधिवेशनको मिति तेस्रोपटक हेरफेर
पत्रपत्रिका पढ्न लाग्ने समय : ४ मिनेट

असार २३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघिको गत १६ गतेको केन्द्रीय समिति बैठकबाट कांग्रेसले १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मिति परिमार्जन गरेको थियो ।

सोमबारको बैठकले भने संशोधित सबै तहका कार्यतालिकालाई पारित गर्दै केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै गर्ने निर्णय गरेको हो । कांग्रेस नेता गोपालमान श्रेष्ठले तोकिएकै मितिमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिबाट अन्य तहका अधिवेशनका कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताए ।

‘१४औं महाधिवेशन ७ देखि १० फागुनमा तोकिएकै मितिमा गर्ने गरी अन्य तहका परिमार्जित कार्यतालिका समेत बैठकले पारित गरेको छ,’ नेता श्रेष्ठले बैठकपछि राजधानीसँग भने । कोरोनाको विश्वव्यापी संक्रमणपछि कांग्रेसले पूर्वनिर्धारित तल्ला तहका अधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्दै केन्द्रीय महाधिवेशनको मिति यथावत् राखेको हो ।

जसअनुसार १५ असारभित्र सक्ने भनिएको कांग्रेसको अन्तरिम संरचना समायोजनको सबै काम अब १५ साउनसम्ममा सक्ने निर्णय भएको छ । यसअघि कांग्रेसले गत फागुनमा नै संरचना समायोजनको काम सक्ने निर्णय गरेको थियो ।

यस्तै, क्रियाशील सदस्यता वितरण र नवीकरणको काम साउन मसान्तभित्रै सकेर भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन भएको छ । यसरी आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ ।

बैठकले ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय बैठकले गरेको हो । यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको छ ।

कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना संक्रमणका कारण प्रभावित भएको थियो । कांग्रेसले गत ९ चैतबाट नै कोरोना संक्रमणका कारण क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरेको थियो भने आफ्ना नेता कार्यकर्तालाई संक्रमणविरुद्धको सचेतनामा परिचालित हुन निर्देशन दिएको थियो ।

यसअघि महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दा कांग्रेसले गाउँ र नगर वडा अधिवेशन आगामी ९ मंसिर, गाउँ र नगरपालिका अधिवेशन ११ मंसिर, प्रदेशसभा क्षेत्रीय अधिवेशन १५ मंसिर, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १७ मंसिर, जिल्ला अधिवेशन २५ मंसिर, प्रदेश अधिवेशन १५ पुसका लागि तय गरेको थियो ।

कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नुपर्नेछ ।

तीव्र विवादबीच कार्यतालिका तय गरेको कांग्रेसले नयाँ संविधानअनुसार पार्टीको संगठन समायोजन गर्न नसक्दा यसअघि नै तालिका संशोधन गरेको थियो । गत फागुनमा नै कांग्रेसले संगठन समायोजन सक्नुपर्ने थियो । संशोधित कार्यतालिकाअनुसार महाधिवेशनको प्रारम्भिक चरणको सदस्यता वितरण र नवीकरण सुरु गर्दै संगठन समायोजन काम सकेका ४० जिल्लामा नवीकरण र नयाँ वितरणका लागि पार्टी केन्द्रीय कार्यालयले सदस्यता रसिदसमेत पठाइसकेकोे छ । तर, कोरोननाका कारण त्यो प्रक्रिया अघि बढ्न सकेको छैन ।

बाँकी अन्य जिल्लामा अझै संगठन समायोजनको काम सकिएको छैन । कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएका १ सय ६५ क्षेत्रमध्ये १ सय ३५ र प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये २ सय ७० को मात्र समायोजन काम सकिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार समायोजनको काम गत फागुनमै सक्नुपर्ने भए पनि समायोजन नसकिएका जिल्लालाई अझैसम्म सदस्यता वितरण र नवीकरणको फाराम नै पठाइएको छैन ।

२०–२३ फागुन २०७२ मा सम्पन्न १३औं महाधिवेशनबाट चार वर्षका लागि सभापति निर्वाचित भएका देउवाले गत फागुनमा एक वर्षको कार्यकाल थप गरेर आगामी फागुनमा महाधिवेशन गर्ने कार्यतालिका ल्याएका थिए ।

ज्वारचनलाई सांसद बनाइने
नेपाली कांग्रेसले समानुपातिकतर्फ रिक्त प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ ।
सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले रिक्त पदमा ज्वारचनलाई पठाउने निर्णय गरेको हो । समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको गत बुधबार निधन भएपछि उनको ठाउँ रिक्त थियो ।

कांग्रेस नेता गोपालमा श्रेष्ठले समानुपातिकतर्फ रिक्त सदस्य पदमा ज्वारचनलाई पठाउने निर्णय भएको बताए । उनले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला ९जनजाति० सूचीमा छन्त्यालपछि ज्वारचनको नाम रहेकाले उनलाई नै सो पदमा पठाइने निर्णय भएको जानकारी दिएका हुन् ।

‘समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको गत बुधबार निधन भएपछि उनको स्थान रिक्त थियो, सो पदमा ज्वारचनलाई पठाउने बैठकको निर्णय होे, रोलक्रममा उहाँकै नाम भएकाले निर्णय गरियो,’ नेता श्रेष्ठले राजधानीसँग भने ।

प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छन् । सांसद निधन भएको जानकारी संघीय संसद् सचिवालयले आयोगलाई दिएपछि सोहीअनुसार निर्वाचन आयोगले पत्र पठाएको थियो ।

सांसदको निधन भएकोबारे कांग्रेसले पनि आयोगलाई जानकारी गराएको थियो । ज्वारचन २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिँदै कांग्रेसमा सक्रिय राजनीतिमा रहँदै आएकी छन् । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस