• २०८१ बैशाख १३ गते बिहिवार

निजी विद्यालय स्थानान्तरण तथा मर्ज गरेर राष्ट्रियकरण गरौं

सत्यराम कासिछ्वा पढ्न लाग्ने समय : ४ मिनेट

शिक्षा एक जीवन पर्यन्त सिकाइ हो । मानिसको जन्मदेखि नमरुन्जेल विविधप्रक्रिया, विधि र माध्यमबाट सिकाई निरन्तर रुपमा रहेको हुन्छ । सिकाईको स्वरुप औपचारिक र अनौपचारिक हुनेहुँदा शिक्षा तथा सिकाई एकनाश हुँदैन विद्यालय कलेजको शिक्षा मूलतः औपचारिक शिक्षा अन्तर्गत पर्दछ । जहाँ सरकारले देशका लागि आवश्यक जनशक्ति उत्पादनका साथै देशभक्तिको भावनाले पोख्त जिम्मेवार नागरिक निर्माणको राष्ट्रिय उद्देश्य राखेको हुन्छ । यसै आधारमा सरकारले शिक्षा सबैका लागि भन्ने आदर्श तय गरिएको छ ।

कुनैपनि राजनीतिक व्यवस्था ले देशलाई चाहिने जनशक्ति शिक्षाको माध्यमबाट तयार गर्नु अनिवार्य आवश्यकता हो। २०४६ को राजनीतिक व्यवस्था बदलिँदा समेत सरकारी विद्यालय खोल्न सहजता नदिने तर नेपालको शिक्षा पञ्चायती व्यवस्थाकै झल्को दिँदै सस्तो, सुलभ तथा वैज्ञानिक शिक्षा, जनवादी शिक्षा तथा उत्पादनश्रमसँग जोड्ने शिक्षाको वकालत गर्ने राजनीतिक शासकहरुका कार्यकर्ताहरू लाई निजी विद्यालयमा लगानी गर्न सहजता दिने र त्यसबाट केही कमिसन लिनेअवस्था एवं अन्य उत्पादका क्षेत्रमा देखिएको अस्थिरतासँगै जोखिमले लगानी सुरक्षित हुने नदेखिएर कतिपय विद्धान विद्यालय संचालक भनाउँदाहरुले आफ्नै पैतृक सम्पति तथा श्रीमतीको दाइजो समेत बेचेर श्रम सीप तथा कलाको प्रयोग गरेर शिक्षा क्षेत्रमा निजी अंग्रेजी विद्यालय खोली लगानी गरी स्वरोजगार भएको भन्नेहरु पनि देखिएका छन्, यस अवस्थामा शिक्षा ऐन विपरित १ किमिको फरक दुरी नै कायम नगरी एकै ठाउँमा केन्द्रिकृत धेरै निजी विद्यालय संचालकहरुले विद्यार्थीहरुबाट चर्को शुल्क लिई अध्यापन गर्ने शिक्षक कर्मचारीहरु लाई थोरै तलबमा काम गराएर घडेरी जोडेका छन् र नाफा पनि मनग्य कमाएका छन् । त्यहाँबाट उत्पादित जनशक्ति तथा प्रतिभाले कामका लागि विदेशीनुपर्ने अवस्था छ भने त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरूको पेशागत जीवन र तलब सुनिश्चितता छैन ।

हाल विश्वमा महामारीको रुपलिएको कोभिड १९ नोबेल कोरोनाका कारण विश्वभर १करोड १६ लाख भन्दा बढि संक्रमित छन्, त्यसले निम्त्याएको बन्दाबन्दी वा लकडाउनका कारण करोडौंको दैनिक जीवन बेरोजगारीसँगै कष्टकर छ भने अरबौं विद्यार्थी वा शिक्षार्थीको शैक्षिक जीवन लथालिङ्ग बनेको छ। विश्वको शिक्षा क्षेत्रमा चालिएका कदम नेपालमा लागु गर्न केही शहरी क्षेत्रमा मात्र उपयुक्त होला तर शिक्षकको प्रत्यक्ष निगरानीमा भएको शिक्षण सिकाई क्रियाकलापले प्रभावकारिता दिन नसकेको परिस्थितिमा सिकाईको लत बसाउने भनेर सुरु गरेको वैकल्पिक माध्यमले कतिको प्रभावकारिता देलान् त्यो आफ्नो ठाउँमा छ ।नेपालमा भौगोलिक विकटताले विश्वमा विकसित संचार प्रविधिको उपलब्धता र चुनौतिले अशिक्षा, बेरोजगारीका कारण भर्चुअल तथा अनलाइन शिक्षामा स्पष्ट वर्गभेद निम्तिएको छ । जहाँबाट देशका लागि अपराधी गतिविधिजन्य खतराको संकेट देखिन थालेको छ ।

बहुसंख्यक सर्वसाधारण पढ्ने विद्यालयमा पर्याप्त मात्रामा अत्यावश्यक कक्षाकोठा, खानेपानी, शौचालय तथा विद्यालयको छाना समेत नभएको अवस्थामा २०७७ असार १ बाट संचालित वैकल्पिक शिक्षण विधिको रुपमा केही शहरी क्षेत्रको सीमित निजी विद्यालयमा भर्चुअल तथा अनलाइन कक्षा प्रारम्भ गरेका छन्, जहाँ हुनेखानेका सन्तानले कम्प्युटर, ल्यापट, टिभी, एफएम तथा इन्टरनेट जस्ता प्रविधिजन्य स्रोत साधनको प्रयोगले लाभ लिएका छन् भने विद्यालय पुग्न तुईन चढेर घण्टौ हिड्नुपर्ने हुँदाखाने वर्गका सन्तानले सरकारी विद्यालय क्वारेन्टाइन बनाएका कारण उक्त शिक्षण विधिको लाभ लिन सकेका छैनन् । निजी विद्यालय संचालकले शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन शुल्क उठाउन लागेको अवस्था छ जहाँ कोभिड १९नोबेल कोरोनाले निम्त्याएक बेरोजगारीले सिर्जित कष्टकर जीवनमा अत्यधिक मार र पिडामा परेका र खाइनखाइ स्तरीय अंग्रेजी शिक्षा दिन लालायित बहुसंख्यक मजदुर वर्गका अभिभावकलाई निजी विद्यालयको शुल्क तिर्न नसक्ने नाजुक अवस्था छ ।

त्यस्तै निजी विद्यालय संचालकले सरकारद्धारा निधारित आधारभूत तलब भन्दा कम तलबमा शिक्षक तथा कर्मचारीहरूलाई काम गराएर श्रम शोषण गरेर वर्षौंवर्ष नाफा कमाएको छ । हाल सिर्जित परिस्थितिमा अभिभावकले शुल्क नतिर्दा तलब खुवाउने नसक्ने तर स्वयंसेवकको रुपमा काम गर्न बाध्य पारिँदा थप श्रम शोषणमा परेको छ। तैपनि केही निजी विद्यालय संगठनले सहुलियत ऋणको व्यवस्था माग्दा अभिभावकसँग लिने शुल्कमा छुटको कुनै कसर बाँकी नराख्ने अवस्था पनि एकातिर छ भने अर्कोतिर निजी विद्यालय संचालक घाटाका कारण शिक्षकलाई तलब दिनु पर्ला भनेर आत्महत्या गर्ने गरेको घटना समेत सार्वजनिक भएका छन् । तर कोभिड १९ नोबेल कोरोनाको अग्र पंक्तिमा बसेर काम गर्ने बाहेकका हरेक प्रकारका सम्पूर्ण सरकारी कर्मचारी, सम्पूर्ण जनप्रतिनिधि लगायत शिक्षकले काम नगरेको अवस्थामा पनि कूल जनसंख्याको बढीमा ५-५ जनसंख्याको घरायसी जीवन सुचारु गर्न पूराका पूरा तलब दिएर बहुसंख्यक जनता माथि अन्याय गरिरहेको छ ।

यसर्थ सम्पूर्ण जनतालाई राहत दिने किसिमबाट सम्पूर्ण सरकारी कर्मचारी, सम्पूर्ण जनप्रतिनिधि लगायत शिक्षक अन्य कर्मचारीलाई निर्धारित आधारभूत तलबको राहत कार्यक्रम र बहुसंख्यक मजदुरलाई लक्षित गरी रोजगारका कार्यक्रम सिर्जनासँगै जसरी पनि शुल्क लिने निजी विद्यालय स्थानान्तण गर्न र मर्ज गरेर राष्ट्रियकरण गरिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस