धान गोडियो, मल छैन

Khabar24Nepal Author Logo..
जितेन्द्र थापा पढ्न लाग्ने समय : २ मिनेट

साउन १५, सुर्खेत । धान रोपेर गोड्मेल गर्ने सिजन चलिरहेको छ । कर्णालीमा हरेक बर्षको असार महिनामा धान रोपेर सकिएपछि साउनमा खेतहरु गोडमेल गर्नु पुर्व किसानलाई मल छर्नको चटारो हुन्थ्यो ।तर यो वर्ष भने किसानहरु बिना मलमैं खेत गोड्न थालेका छन् । विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण यहाँका कृषकहरुले खेत रोप्दा देखि गोड्दासमेत मल पाउन सकेका छैनन् । बजारमा पनि मलको अभाव भएपछि किसानहरुलाई उब्जनी नहुने चिन्ता बढेको छ ।

 

‘खेत रोप्ने बेला देखि अहिले गोड्ने काम सुरु भएको छ । युरिया मलका लागि बजारभरी भुमियो तर कहिँ मल पाउन सकिएन,’ वीरेन्द्रनगर नगरपालिका वडा –४ की कृषक अग्नी चौधरीले भनिन्, ‘जहान केटाकेटी पाल्नका लागि भएपनि बटैया ९अधिया० मा रोपिएको धानलाई मेहनत मात्र खेर जान्छ जस्तो छ ।’वीरेन्द्रनगर–३ पटेनीका कृषक ओमप्रसाद भण्डारीले अघिल्ला वर्षहरुमा मल हालेका कारण राम्रै उब्जनी गरेको बताउँदै खेतमा मल नहालेरै गोडएपछि धान उब्जनी होला भन्ने आशा नरहेको गुनासो गरे ।बजारमा मलको अभाव र मलका नामको पिठोजस्तो वस्तुको पनि महँगो मूल्य भनेपछि डेढ विघा जमिनमा लगाएको धान मल नहालेरै गोडेको भण्डारीको भनाई छ ।

चौधरी र भण्डारी मात्रै होइनन् कर्णालीका अधिकांश कृषकहरु मल नपाएर समस्यामा परेका छन् ।दैनिक जसो बजारमा रासायनिक मल ल्याउन आउने कृषकहरु खाली हात घर फर्किने गरेका छन् ।
स्थानीय स्तरमा मल विक्रिका लागि अनुमति पाएका सहकारी तथा संघ संस्थाले समेत मल उपलब्ध गराउन सकेका छैनन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाका कारण कर्णालीमा मात्र मलको अभाव नभएर सिंगो नेपालभर यस्तो समस्या रहेको कर्णालीमा कृषकहरुलाई मल उपलब्ध गराउँदै आएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख टोपाराम केसीले जानकारी दिए । ‘रासायनिक मल ९युरिया० कर्णालीमा मात्र नभइ देशैभर अभाव छ,’ प्रमुख टोपाराम केसीले भने, ‘कोरोना कहरका कारण जारी गरिएको लकडाउनमा युरिया मल नेपाल भित्रिएको छैन । डिएपी मल भने भैरहवासम्म आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस