पर्खालको घेरा एक किलोमिटर तल, भारतको दादागिरी माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १६,काठमाडौँ। भारतले कृत्रिम रूपमा खडा गरेको कालापानीको मुहान र मन्दिरभन्दा झन्डै एक किलोमिटर तल आएर घेरा पर्खाल लगाएर बसेको छ भारतीय सुरक्षा टोली । सरकारले भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको क्षेत्र आफ्नो नक्सामा राखेर संसद्बाट नयाँ नक्सा पारित गराएपछि त्यस क्षेत्रमा तरंग उत्पन्न भएको छ ।

विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न दिएको ठाउँसम्म अहिले भारतीय सुरक्षाकर्मीले जान दिएको छैन । यो क्षेत्रमा सुरक्षाकर्मी मात्र होइन, स्थानीय पनि जान डराउँछन् । नेपालले नक्सा जारी गर्नु र भारत तथा चीनबीच भएको पछिल्लो विवादका कारण यो क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थिति बाक्लिएको छ ।

गुन्जी कालापानी क्षेत्रमा अहिले दैनिक दर्जनौं गाडीमा सुरक्षाकर्मी तलमाथि आवतजावत गर्छन् । व्यासमा खटिएका सुरक्षाकर्मीका अनुसार कालापानीको मुहान मात्रै हेर्न आग्रह गर्दा पनि उनीहरूले मानेनन् । ‘बरु ढुंगाको पर्खाल लगाएको क्षेत्रमै बसेर फोटो खिचेर फर्किनुपर्यो,’ त्यहाँ पुगेका एक सुरक्षाकर्मीले भने । आफ्नै भूमि भएर जान पनि स्थानीयमा त्रास छ ।नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन् । कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबीले रोक्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस