दशैँको मुखमा मुगुमा प्याजको मूल्य उकालो लाग्यो

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक ०५ मुगु । नेपालीहरूको महान् पर्व बडादशैँ र तिहार नजिकिँदै गर्दा मुगुमा एक्कासि प्याजको मूल्य उकालो लागेको छ । साउन, भाद्र महिनामा मुगुको स्थानीय गमगढी बजारमा प्रति केजी प्याज १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म बिक्री भएको थियो । तर हिजोआज एक्कासि प्रति केजी २ सय ५० रुपैयाँमा खरिद-बिक्री गर्दा प्याजको मुल्य उकालो लागेको हो ।

मुगुमा व्यावसायिक रुपमा प्याजखेती गर्ने कृषकहरु नभएको हुँदा असार(साउनमा केही कृषकहरुले थोरै(थोरै उत्पादन गरेका प्याज बजारमा आउँदा बजार मूल्य कम भएको थियो । हिजोआज स्थानीयले उत्पादन गरेका प्याज स्थानीय बजारमा अभाव भएको हुँदा ग्रहकको माग बढिरहेको हुँदा जुम्ला, कालिकोट जिल्लाबाट प्याज ल्याउनुपर्ने भएकाले ढुवानी खर्च बढी तिनुपर्छ । जसको लागत मूल्यमा जोड्दा हिजोआज बजारमा प्याजको मुल्य बढेर २५० रुपैयाँसम्म बिक्री गर्नुपरेको गमगढी बजारमा तरकारी पसल सन्चालन गरिरहेका राष्टराज कार्कीले बताए ।

जिल्लामा विभिन्न संघ-संस्था र सरकारी कार्यालयले मुगुका कृषकहरुलाई प्याज लगायत अन्य सिजनल एवं अफसिजनल उत्पादन हुने तरकारीहरुमा लाखौँ रुपैया अनुदानबापत खर्च गरेका छन् । तर पनि सम्बन्धित ब्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकको पहिचान नगरी राजनैतिक पहुँचको आधारमा कृषक छनोट गर्ने कृषि क्षेत्रमा लगानी गर्ने प्रवृत्तिले मुगुमा प्याज लगायत अन्य तरकारीको बजार अभाव हुने गरेको ५ वर्षदेखि नियमित तरकारी व्यवसाय गर्दै आएका छायानाथ रारा नगरपालिका वडा नम्बर ५ का बालचन्द्र कार्कीले बताए ।

यता जिल्ला कृषि विकास कार्यालय मुगुका अनुसार विगतका वर्षहरुभन्दा पछिल्ला वर्षहरुमा स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी बजारमा पाइरहेको र पछिल्ला वर्षहरुमा नेपालगन्ज, सुर्खेतबाट ल्याएर बिक्री हुने हरियो तरकारी र फलफुलको प्रयोग घटेको छ ।

प्रतिक्रिया दिनुहोस