श्रीसदन आजबाट नागरिकका लागि खुला

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ६, काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार नीराजन शाहको निजी निवास ‘श्रीसदन’ आइतबारबाट नागरिकका लागि खुला गर्न लागिएको छ । तत्कालीन राजा वीरेन्द्रले आफ्नो डिजाइनमा तयार गर्न लगाउनुभएको सो भवन २०२३ सालमा निर्माण गरिएको थियो ।

युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार श्रीसदन निर्माणपछि राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट सर्नुभएको थियो । तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिलमा र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदनमा सर्नुभएको थियो । नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले श्रीसदन सर्वसाधारणका लागि खुला गरिएको औपचारिक शुभारम्भ गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अब सबैको प्रतीक्षा सकिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा आएका अवलोकनकर्ताले श्रीसदनका साथै ग्यारेज र गणतन्त्र स्मारकसमेत अवलोकन गर्न पाउनेछन् ।”

कोरोना भाइरसका कारण बन्दाबन्दी सुरु भएलगत्तै नारायणहिटी दरबार सङ्ग्रहालय अवलोकनका लागि बन्द गरिएको थियो । आइतबारबाटै सङ्ग्रहालय पनि पुनः खुला गरिँदै छ । एउटै टिकटबाट नयाँ खुला हुने स्थान पनि अवलोकन गर्न पाइनेछ । अवलोकनकर्तालाई मास्क लगाउन अनिवार्य गरिएको छ भने ठाउँठाउँमा सेनिटाइजरको व्यवस्था गरिने छ ।

प्रतिक्रिया दिनुहोस