सुदूरपश्चिम प्रदेशमा आईसीयू र भेन्टिलेटर चलाउन पहल

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर ६, कैलाली। कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आईसीयू र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि पहल शुरु गरेको छ ।

चालू आर्थिक वर्षमा सङ्घीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठाएको छ । एकवटा भेन्टिलेटर यूएनडिपीले अस्पताललाई सहयोग गरेको अस्पतालमा उपकरण भएर पनि जनशक्ति नहुँदा आएका उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताए ।

अध्यक्ष रावलले टीकापुर नरगपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र महुन्याल गाउँपालिकासँग छलफल भएको बताएका छन् । उनले दश बेडको आईसीयू र सात बेडको भेन्टिलेटर सञ्चालनका लागि पूर्वाधार अस्पतालसँग भए पनि आवश्यक पर्ने जनशक्तिका लागि भने आर्थिक अभाव भएका कारण स्थानीय तहसँग छलफल गरिएको बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रेमकुमार राईले आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि एकजना एनेस्थेसियालोजिष्टसहित ३२ जना थप कर्मचारी व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि करिब रु दुई करोड ३७ लाख ५५ हजार ८०० अनुमानित खर्च हुने बताए । राईले उपकरणमात्र भएर सेवा सञ्चालन गर्न नसकिने भन्दै जनशक्तिका लागि आर्थिक पाटोसक्षम भए आईसीयू सञ्चालन गर्न कुनै समस्या नरहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार भएर पनि जनशक्तिको अभावमा बिरामीलाई नेपालगञ्ज, धनगढी रेफर गर्नुपर्ने बाध्यता रहँदै आएको छ । कैलालीको आधाभन्दा बढी स्थानीय तह र बर्दियाको आधाभन्दा बढी स्थानीय तहका नागरिक उपचारका लागि टीकापुर अस्पतालमा आउने गर्दछन् ।

त्यस्तै, जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकामा चालू आवमा सबैभन्दा कम बजेट आएको बताउँदै आइसियु सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताए । छलफलमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले सरकारले नै स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएको अवस्थामा सबै स्थानीय तह मिलेर सङ्घ र प्रदेशलाई दबाब दिनै भए पनि आईसीयू सञ्चालन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस