कर्णालीका स्थानीय तहहरुको आगामी आ.वको बजेट सार्वजनिक्ः वीरेन्द्रनगरको आय तर्फ ४५ करोड भन्दा धेरै बजेट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

 सुर्खेत १०, असार ।   कर्णालीका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । प्रत्येक असार १० गतेभित्र नीति, कार्यक्रम र वजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज सवैजसो स्थानिय तहहरुले गाउँ तथा नगरसभा गरेका हुन् । केही स्थानिय तहहरुले यसअघि नै गाउँसभा र नगरसभा उद्घाटन गरिसकेका छन् ।

कर्णाली प्रदेशका ७९ वटै स्थानिय तहका सभामा नीति तथा कार्यक्रम र त्यसको आधारमा आगामी आर्थिक वर्षका लागि वजेट समेत सार्वजनिक गरेका छन् ।  संघिय सरकारबाट प्राप्त भएको अनुदान र स्थानिय आर्थिक स्रोतको आधारमा बजेट र कार्यक्रमहरु तयार गर्ने चलन छ । अधिकांश स्थानिय तहले भौतिक पूर्वाधार विकासलाई विशेष जोड दिएका छन् । संवैधानिक व्यवस्थाअनुसार संघ सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानिय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि वजेट सार्वजनिक गरिसक्नुपर्ने हुन्छ ।

          नगरसभामा बजेट प्रस्तुत  गर्न जाँदै उप–प्रमुख माेहनमाया ढकाल(भण्डारी) ।

यसैबीच, वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष ०७६/७७का लागि ४५ करोड ३ लाख १२ हजार रुपैँया बराबरको बजेट प्रस्तुत गरेको छ । मंगलबार नगरपालिकाको पाँचौ नगरसभामा कार्यपालिकाका उप–प्रमुख एवम् कार्यक्रम तर्जुमा समितिका संयोजक मोहनमाया ढकाल (भण्डारी) ले आगामी आर्थिक वर्ष २०७६/ ०७७ का लागि बजेट तथा नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको हो । वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनहरुमा नगर क्षेत्रको गुरुयोजना निर्माण, पानीको प्रयाप्त श्रोत, उपत्यकाको ढल निकास, एअरपोर्ट, विद्युतलगायतका क्षेत्रलाई सुधार्दै अघि लैजाने बताइएको छ । यस्तै उद्योग तथा व्यवसायको सिर्जना, वृद्धि विकास, शिक्षा र खेलकुद क्षेत्रको गुणस्तरीयता, लोक संस्कृतिको संरक्षण सम्वद्र्धन लगायतका जनता पक्षिय योजना अघि बढाइने नीति तथा कार्यक्रममा समावेस गरिएका छन्  ।

नगरप्रमुख देवकुमार सुवेदीको अध्यक्षतामा भएको नगरसभामा दुई वटा विधेयक समेत उप–प्रमुख मोहन माया ढकाल (भण्डारी) ले टेबुल गर्नुभएको छ । नगर प्रमुख सुवेदीले सभा असार १५ गते दिउँसो १ बजे सम्मका लागि सभा स्थगित गर्नुभएको छ । यस्तै पञ्चपुरी नगरपालिकाले पनि आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बराहताल गाँउपालिकाले ४० करोड १५ लाख बजेट बरावरको बजेट गाउँसभामार्फत प्रस्तुत गरेको छ ।

दैलेखमा,,

महावु गाउँपालिकाले पाचौं गाउँसभा अन्तरर्गत आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी बुढाले आर्थिक वर्ष ०७६/०७७ का लागि ३४ करोड ३८ लाख २१ हजार ५ सय ९८ रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाका विभिन्न जनता पक्षिय योजनाहरु नीति तथा कार्यक्रममा समावेस गरीएको गाउँपालिकाले जनाएको छ । यस्तै दुल्लु , चामुण्डाबिन्द्रासैनी नगरपालिका र नारायण नगरपालिकाले नगरसभा मार्फत बजेट प्रस्तुत गरेका छन । यस्तै, भैरवी गाउँपालिकाले ३३ करोड १२ लाख २१ हजारको बजेट प्रस्तुत गरेको थियो । डुङगेश्वर र ठाँटीकाँध गाउँपालिकाले पनि बजेट प्रस्तुत गरेको छन ।

प्रतिक्रिया दिनुहोस