काँग्रेस सभापतिमा लड्ने अर्जुननरसिंह केसीको घोषणा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक ९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आफू १४औं महाधिवेशनमा पार्टीको सभापतिको लागि बलियो उम्मेद्धवार भएको स्पष्ट पार्दै उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफू सभापतिको लागि उम्मेद्धवार रहेको सुनाए ।

उनले भने, ‘अहिले व्यक्ति होईन, विचारलाई प्राथमिकता दिनुपर्छ ।’ अहिले मुलुकमा व्याप्त भ्रष्टाचार काण्डबारे छानबिन गर्नुपर्छ भनेर अबको सभापति बन्नेले एजेण्डा बनाउनुपर्ने र आफूले यो एजेण्डा बोक्ने उनले सुनाए । उनले आफूले कोहीभन्दा पनि कमजोर नठानेको बताए । उनले पार्टीको केन्द्रीय समितिको बैठक दशैंको समाप्तीपछि बस्ने सुनाए । केसीले पार्टीको १४औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर आफूहरुले आवाज उठाईरहेको सुनाए । उनले भने, ‘हामी चुक्ने कुरा नै भएन । गत चुनावमा लज्जास्पद हार व्यहोरौं । तोकिएको मितिमा अधिवेशन गराउँ भन्ने हाम्रो निरन्तर प्रयत्न भयो । अधिवेशन हामीले भनेर हुने कुरा पनि थिएन । सभापतिले हाम्रो कुरा सुन्नुभएन । हरेकले सारेर गएका छन भने मैले किन नसार्ने रु भनेर उहाँले गलत काम गर्नुभयो । एक वर्ष सर्यो पनि । अहिले त कोरोना भाइरसले सम्पूर्ण राष्ट्र नै आतंकित छ । महाधिवेशनको लागि गर्नुपर्ने तयारीको सम्बन्धमा पनि संस्थापन पक्ष गम्भीर भएन । महाधिवेशनको तयारी गर्ने हो । तर, भएन । दस्तावेज लेख्ने काम पनि भएन ।’

पार्टी सभापतिलाई सबै नेताले सहयोग गरेको भन्दै उनले असहयोग भयो भनेर सभापतिले भन्नु हाँस्यास्पद भएको पनि टिप्पणी गरे । उनले भने,‘उहाँ त उहाँ हाम्रै सभापति हो । नाँच्न नजान्ने अनि आँगन टेढो भन्नुभएन नि । नेतृत्वकर्ताले समन्वय र संयोजन गर्नुपर्छ । उहाँलाई सहयोग गरेको हो । ६ महिनाभित्र विभाग गठन गरेको भए, गरेको गरै हुन्थ्यो । उहाँले आखिर गर्नुभएन । पार्टीलाई नियन्त्रण र कब्जा गर्न बहाना हो । आज दशैंको यो नवमीको दिन हो, म तिक्ततापूर्ण कुरा गर्न चाहँन्न । आफूले आँफैलाई विश्लेषण गरौं ।’

प्रतिक्रिया दिनुहोस