कोरोना र शैक्षिक अन्योलता

Khabar24Nepal Author Logo..
राजकुमार सिग्देल पढ्न लाग्ने समय : ६ मिनेट

आजभोलि ‘कोरोना’ शब्द सुन्ने बित्तिकै जो कोहिको मानस पटलमा एउटा त्रास वा भयले डेरा जमाउने गदर्छ । यो समयसम्म आई पुग्दा शब्दकोषमा एउटा सबै भन्दा डरलाग्दो शब्द थपिएको छ, त्यो हो ‘कोरोना’ । घर परिवार , समाज, साथीभाइ, चोक, गल्ली आदी सबै तिर । आजभोली मलाई पनि लाग्न थालेको छ। यो त अत्यन्तै खतरनाक रोग रहेछ । मेरो मानस पटलमा पनि कोरोनाका बारेमा धेरै कुराहरु आईरहन्छन् । तर म ति कुराहरुलाई पाखा लगाउन निरन्तर लागि परिरहन्छु । किन–किन तै पनि पूर्णरुपमा ति कुराहरुलाई पाखा लगाउन सक्दीन । म एकै छिन दिमागको ताजगीका लागि टेलिभिजन खोल्छु, अनायसै मेरा आँखाहरु टेलिभिजनका गीत संगीत भन्दा पनि टेलिभिजनको पर्दाको तल्लो भागमा रहेका समचारहरुमा पुग्दछन् जहाँ कोरोनाका थुप्रै समाचारहरु गतिशील छन् । त्यहाँ लेखिएको हुन्छ, कि फलानो देशमा यती मान्छेको मृत्यु, यती संक्रमण । यो ताजगीका लागि खोलिएको टेलिभिजनले मलाई मानसिक रुपमा विक्षिप्त पार्दछ ।

कोरोनाले समाजमा मानवीय भावनालाई निमिट्यान्न पारेको छ । कोरोनाका बिरामीलाई समाजबाटै बहिस्कार गर्नेसम्मका क्रियाकलाप भईरहेका छन् । डाक्टर, नर्स, कर्मचारी, प्रहरी लगायत अग्रमोर्चामा खटिएका जनशक्तिहरुले पनि र्दुव्यवहारको सामना गर्नु परिरहेको छ । म सोच्न बाध्य हुन्छु । यो भावना कसरी जागृत भयो ? यसमा देशका बुद्धिजिवी वर्गको भूमिका के रह्यो ? यस्तै–यस्तै थुप्रै प्रश्नहरु जुन अनुत्तरित छन् । सरकारले पनि कोरोनाका विषयमा अफवाह फैलायो। सम्पुर्ण देशवासीहरुलाई भौतिक दुरी कायम गर्नु पर्छ, भन्नुको सट्टामा सामाजिक दुरी कायम गर्न निर्देशन दियो । निर्देशनको पालना गर्दै भौतिक दुरी भन्दा पनि सामाजिक दुरी कायम गर्न समाज उद्दत भयो । परिणामतः समाजमा भौतिक रुपमा नजिक भएर पनि सामाजिक दुरी बढ्दै गयो । यसरी समाजमा सामाजिक दुरी बढ्दै जादाँ म पनि सोच्न थाल्छु । ‘म पनि त यस समाजको बौद्धिक वर्गमै गनिन्छु नि । यो सामाजिक दुरी घटाउन मेरो के भूमिका रह्यो ? म आफैले–आफैलाई यो प्रश्नको उत्तर दिन सक्दिन । हामी बुद्धिजिवि वर्ग भएर पनि समाजमा रहेका यस्ता सामाजिक र्दुव्यवहार हटाउन सकेनौ । त्यसैले होला डा. सञ्जिव भन्दै हुनुहुन्थयो । ‘शिक्षित मुर्खहरुले गर्दानै कोरोना नियन्त्रणमा समस्या भएको छ ।’ हामी पनि कोरोनाका मतीयार भएका छौँ ।

कारोनाले मानव जीवनका विभिन्न पाटाहरुमा क्ष्यत विक्ष्यत बनाएको छ । आर्थिक क्षेत्र धरासायी हुदाँ मानव जीवनलाई निरन्तरता दिनका लागि चाहिने अत्यावश्यक वस्तु तथा सेवाको पनि अभाव हुँदै गैरहेको छ । आर्थिक क्षेत्रलाई सवल र सक्षम बनाउने शैक्षिक क्षेत्र त झनै धरासायी भएको छ । शैक्षिक क्षेत्रमा आवद्ध विद्यार्थी शिक्षक तथा कर्मचारी सबैमा अन्योलता छाएको छ । हाम्रो देशको शैक्षिक इतिहास हेर्ने हो भने पहिले पनि शिक्षामा अन्योलता नै थियो । कोरोनाको समयमा झनै अन्योलता बढ्दै गयो । राष्ट्रनै एउटा बन्दि जस्तै भएको छ । यसको प्रत्यक्ष असर शिक्षक, विद्यार्थी र अभिभावकले व्यहोर्नु परेको छ ।

विगतका शैक्षिक ईतिहासलाई हेर्दा कहिले पदाधिकारी नियुक्तिको विषयमा विवाद, कहिले शिक्षक नियुक्ति, विद्यालय व्यवस्थापन समिति गठन, पाठ्यक्रम परिमार्जन लगायतका विषयमा अन्योलता कायमै थियो । यो महामारीले शिक्षा क्षेत्रलाई तहस–नहस बनायो । यो शिक्षा क्षेत्रमा अन्योलता आउनुमा सरकारको नै मुख्य जिम्मेवारी देखिन्छ किनकि कुनै पनि वास्तविक अवस्था नबुझि हचुवाको भरमा दिएका निर्देशनहरु पालनाहुन सक्दैनन् । सरकार पनि यी नियमहरुलाई पालना गराउन सक्दैन । परिणामतः सरकारको वैधानिकता माथिनै प्रश्न चिह्न खडा हुन्छ । जसरी एउटा घरमा अभिभावकले सहि निर्णय नलिदा सम्पूर्ण घर परिवार प्रति सामाजिक दृष्टिकोणनै परिवर्तन हुन्छ ।

तत्कालिन शैक्षिक अन्योलताको सुरुवात २०७६ चैत ५ गते साँझ उप–प्रधान तथा रक्षा मन्त्रि ईश्वर पोखरेलको संयोजकत्वमा रहेको ‘कोभिड–१९ संक्रमण , रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले सम्पुर्ण तयारी पुरा भई शुरुहुन केहि घण्टा मात्र बाँकी रहदा स्थगित गरिएको ‘माध्यमिक शिक्षा परिक्षा’ (एसईई)बाट सुरु भएको हो । त्यहाँबाट सुरु भएको अन्योलता र विद्यालयमा स्थगित शैक्षिक गतिविधिहरु अहिलेसम्म पनि सुचारु हुन सकेका छैनन् । त्यसै गरि कक्षा ११ र १२ तथा स्नातक र स्नातकोत्तर तहका परिक्षाहरु पनि स्थगित नै छन् । शिक्षा मन्त्रालयले स्थगित परिक्षाहरु सुचारु हुन्छ , भन्दा भन्दै अनिर्णयको बन्दि बनाउन लागिरह्यो । देश व्यापी रुपमा रहेको करिब ४ महिना लामो घोषित बन्दा बन्दीले विद्यार्थी, शिक्षक र अभिभावकहरुमा निरासाहरु छाउदै गैरहेका छन् । शैक्षिक क्षेत्र बन्दसँगै घर भित्रै थुनिएर रहेका बालबालीकामा निरासा र शैक्षिक अन्योलता बढ्दै जाँदा उनीहरुमा मानसिक समस्या पैदा भै आत्महत्याको बाटो रोज्न पुगेका छन् । यसै क्रममा शिक्षा मन्त्रालयले विद्यार्थीहरुको सिकाई निरन्तरता भन्दै वैकल्पिक माध्यमबाट शिक्षा दिने कार्यविधि २०७७ जेष्ठ १८ गते पारित गर्यो । यसकार्य विधिमा यो सिकाई निरन्तरतालाई औपचारिक भनिए पनि केहि दिनमै यसलाई अनौपचारिक शिक्षा मात्रै हो भन्दै जिल्ला बाहिर रहेका सम्पुर्ण शिक्षकहरुलाई असार १ गतेसम्म जसरी भए पनि विद्यालयमा उपस्थित हुन उर्दी जारी गरियो । यो उर्दीको पालना गर्दै केहि शिक्षकहरु त कार्य क्षेत्रमा पुगे तर धेरै जसो भने आफ्नो कार्य क्षेत्रमा पुग्ने सम्भावना नै थिएन ।

असार १ गते देखि सुरु गरिएको वैकल्पिक शिक्षा पनि अर्थबिहिन भयो । भौगोलिक विकटता भएको देश र प्रविधिमा पाईला मात्र सारेको देशमा त्यती सम्भवाना थिएन । अर्को कुरा विद्यार्थी, शिक्षक र अभिभावक पनि यो शिक्षाका लागी मानसिक रुपमै तयार हुन नसकेको देखिन्छ । शिक्षक तयार भए पनि विद्यार्थी र अभिभावक तयार देखिदैनन् । अभिभाकहरु कोरोना महामरीको समयमा पढाउनु भन्दा अर्काे साल पढाउन तयार रहेको देखिन्छ । निजी विद्यालयमा कार्यरत शिक्षक तथा सामुदायीक विद्यालयका निजी स्रोतमा कार्यरत धेरै शिक्षक तथा कर्मचारीहरुले वैशाख देखिनै आफुले पाउँदै आएको तलव–सुविधा पाएका छैनन् । भोको पेटले को काम गर्न तयार हुन्छन् ? शिक्षकहरु नैतिक संकटमा परेका छन् । केहि काम नगरौं त आफ्नै नैतिकता माथि प्रश्न चिह्न खडा हुन्छ। काम गरौँ भोको पेटले गर्न मान्दैन । भन्ने गरिन्छ, संसारमा सबै भन्दा ठुलो मानिस शिक्षक हो , शिक्षण पेशा नै सर्वमान्य हो । प्रसिद्ध अमेरिकी दार्शनिक ‘सिड्नी हुक’ का अनुसार,‘शिक्षक शैक्षिक प्रक्रियाको मुटु हो ।’ जसरी मुटुले सम्पुर्ण शरीरमा रगतको प्रवाह गराउछ त्यसरीनै शैक्षिक क्षेत्रको सम्पुर्ण प्रवाह शिक्षकले गर्दछ । त्यसरीनै शिक्षकलाई पनि काम गर्न नसक्ने बनाईयो भने के हुन्छ ? यस विषयमा राज्यको विशेष ध्यान जाओस् । विकसित देशहरुमा निजी विद्यालयलाई राज्यले केहि आर्थिक सहयोग सरककार प्रती उत्तरदायी बनाईन्छ । हाम्रो देशको शिक्षा क्षेत्र त विदेशी अनुदानमै अडेको छ । यो अन्योलताबाट कसरी पन्छिन सक्ला ? सरकारले ल्याउने हरेक कार्यक्रम विदेशको ईशारामा मात्रै चल्ने गर्दछ ।

शैक्षिक अन्योलता फैलाउनुमा हाम्रा अभिभावक र शिक्षाविदहरु पनि जिम्मेवर देखिनु हुन्छ । उहाँहरु सधै शिक्षकहरुले केहि गरेनन् भनेर २–४ जना नगर्ने शिक्षकहरुसँगै कर्तव्यनिष्ठ शिक्षकहरुलाई पनि रद्दिको टोकरीमा मिल्काईदिनुहुन्छ । यसले कर्मशील शिक्षकहरुलाई मानसिक चोट पर्न जान्छ । फलतः शिक्षाको गुणस्तर खस्कन्छ ।

यो शैक्षिक अन्योलताको अन्त्य गर्नका लागि सम्पुर्ण सरोकार वालाहरु आ–आफ्नो स्थानबाट जिम्मेवार बन्नु पर्दछ । सरकारले पनि निर्णय गर्दा सम्भाव्यता अध्ययन गरेर मात्र निर्णय गर्नु जरुरी छ , जब कि त्यो निर्णय कार्यन्वयनमा सजिलै लैजान सकियोस् । अभिभावक वर्गहरु पनि आफ्नो स्थानमा जिम्मेवारी लिन पछि हट्नु भएन । बालबालिकाहरुलाई नैतिकता र व्यवहारिकता सिकाउनु पर्छ । समय–समयमा बालबालीकालाई व्यवहारिकता सिकाउनुपर्छ । व्यवहारिकतानै जीवन सफल बनाउने महत्वपुर्ण शिक्षा हो । शिक्षकहरु पनि आफ्नो वुद्धिले सम्भव भएसम्म विभिन्न प्रविधिहरुको प्रयोग गर्दै विद्यार्थीलाई सिकाईलाई निरन्तरता दिनुपर्दछ । राज्यले, विद्यालय संचालकले आफ्नो जिम्मेवारी भुलेपनि शिक्षकले आफ्नो जिम्मेवारी भुल्नु हुदैन । सबैलाई जिम्मेवार बन्न सिकाउने व्यक्तिनै शिक्षक हो । साथै, हाम्रा शिक्षाविद् मित्रहरु पनि शिक्षकको मात्रै आलोचना नगरि । यथार्थतालाई मुल्याङ्कन गरि राम्रोलाई पुरस्कार र नराम्रोलाई दण्ड गर्ने परिपाटीको विकास गराउन तिर उद्दत हुन जरुरी छ।

प्रतिक्रिया दिनुहोस