तेस्रो मुलुकसँग व्यापारका लागि नेपाललाई भारतीय जलमार्ग प्रयोग गर्न दिने सहमति

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

मंसिर , १२ काठमाडौँ । तेस्रो मुलुकसँगको व्यापारका लागि नेपाललाई भारतीय जलमार्गको प्रयोग गर्न दिन तथा नेपालका थप दुई नाकामा बल्क कार्गो सुविधा दिन नेपाल र भारतबीच सहमति भएको छ ।

बुधवार काठमाडौंमा सम्पन्न नेपाल–भारत पारवहन सन्धि पुनरवलोकन सम्बन्धी प्राविधिक समितिको बैठकमा नेपालको पारवहनका लागि आन्तरिक जलमार्ग उपयोग गर्न जलमार्ग तथा बहुविधिक ढुवानी रूटहरू, ढुवानीका प्रक्रियाहरू, भन्सार सहजीकरण र नेपाली ध्वजावाहक पानीजहाज सञ्चालनका व्यवस्थाहरू नेपाल भारत पारवहन सन्धिको प्रोटोकलको मस्यौदा समावेश गर्न दुवै मुलुक सहमत भएका हुन् ।

तर, भारतका थप दुई बन्दरगाह धाम्रा र मुन्द्राको प्रयोग गर्ने बारेमा सहमति हुन सकेन । नेपाली पक्षले यसै बैठकमा भारतका थप दुई बन्दरगाह धाम्रा र मुन्द्राको प्रयोगका बारेमा भारतले सहमति दिने बताए भए पनि भारतीय पक्षले त्यसका लागि आन्तरिक छलफल भइरहेको र त्यसबारे आप्mनो सुझाव चाडै पठाउने मात्रै बतायो ।

बुधवारको सहमतिपछि तेस्रो मुलुकसँगको व्यापारमा नेपालले तीन भारतीय जलमार्ग, कोलकाता–साहेबगञ्ज, कोलकाता–कालुघाट र कलकत्ता–बनारस प्रयोग गर्न पाउनेछ ।

दुईदिने बैठकमा जलमार्ग प्रयोग र बल्क कार्गोका विषयमा ठोस सहमति भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव तथा नेपाली टोलीका संयोजक नवराज ढकालले बताए । ‘यी व्यवस्था सन्धिमा हस्ताक्षर भएलगत्तै कार्यान्वयनमा आउनेछन्,’ उनले बताए । ‘जलपारवहन प्रणालीको सन्दर्भमा यो कोसेढुगां हो, जसले नेपाली झन्डा भएको पानीजहाज चलाउने नेपालको सपना पूरा गर्नेछ । साथै, ढुवानी खर्चमा कमी ल्याउनेछ ।

प्रतिक्रिया दिनुहोस